त्रिवि उपकुलपतिको विज्ञापनका प्रावधान संशोधन गर्न निर्देशन

त्रिवि उपकुलपतिको विज्ञापनका प्रावधान संशोधन गर्न निर्देशन

 

पुस २०, काठमाडौं। सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू ले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका सम्बन्धमा प्रकाशित गरेको दरखास्त आव्हान सम्बन्धी विज्ञापनमा राखिएका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ।

सम्माननीय प्रधानमन्त्रीज्यूले माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति श्री अशोककुमार राईज्यूलाई मिति २०८० पुष २० गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिनुभएको हो।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज शुक्रबार प्रकाशित गरेको सूचनामा दरखास्त दिने उम्मेदवारले ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको हो।

आफुले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको बताउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्न माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू मार्फत् छनोट तथा सिफारिस समितिलाई निर्देशन दिनुभएको हो।