खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको संयुक्त छलफल सम्पन्न

खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको संयुक्त छलफल सम्पन्न

पुस ८, काठमाडौं। मन्त्रालयगत समीक्षा गरी कार्यसम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ। साथै उहाँले धारामा पानी नआउने तर खानेपानी महशुलको बिल भने आउने समस्याको तुरून्त समाधान खोज्न र २८ दिनभित्र मेलम्चीको पानी काठमाण्डौ ल्याउने कार्ययोजनामा तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै सम्माननीय प्रधानमन्त्रीज्यूले उक्त कुरा बताउनुभएको हो।

सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो, “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ, यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।”

“हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं। त्यसैले तपाइँहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ।” सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो ।

सम्माननीय प्रधानमन्त्रीले जिम्मेवार र जवाफदेही भई काम गर्न र सुशासन, सामाजिक न्याय एवम् समृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्तिमा प्रतिबद्ध रहन समेत सबैलाई निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा माननीय  खानेपानी मन्त्री महेन्द्र राय यादवज्यू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीज्यू,  माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीज्यू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यू तथा सचिव त्रय  डा. कृष्णहरि पुष्करज्यू, सुरेश आचार्यज्यू र डा.  दीपक काफ्लेज्यू लगायतले आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा बोल्नुभएको थियो।