प्रधानमन्त्री र मिलेनियम कर्पोरेशनका उपप्रमूखबीच भेट

प्रधानमन्त्री र मिलेनियम कर्पोरेशनका उपप्रमूखबीच भेट

असोज १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायता विकास आयोजना छनोट गर्ने विकास संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उपप्रमूख फातेमा सोमार, नेपालका लागि अमेरिकी राजदूत अलेना टेप्लिस् र मिलेनियम च्यालेञ्ज कर्पोरशेनका नेपाल निर्देशक डा. हिमेश ढुंगेल लगायतको टोलीले भेट गरी नेपालको उर्जा क्षेत्र, अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तार र सडक पूर्वाधारको मर्मतका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनले काम गर्ने चाहना व्यक्त गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी हुनुहुन्थ्यो । भेटका क्रममा प्रधानमन्त्रीले नेपालको उर्जा र पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने मिलेनियम कर्पोरेशनको चाहनाप्रति धन्यवाद दिँदै अधिकतम् लगानीका लागि सोमारसँग आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालमा राजनीतिक स्थिरता र सुशासनको वातावरण बढ्दै गएको छ । नेपालको हितमा गरिने विदेशी लगानीका लागि प्रविधि, सुरक्षा लगायत सम्पूर्ण व्यवस्था गर्न सरकार प्रतिवद्ध छ । यहाँहरुले नेपालको उर्जा र सडक पूर्वाधार मर्मतका लागि लगानी गर्ने चाहनाप्रति आभार प्रकट गर्दछु । नेपालको आशा छ, यहाँको अधिकतम् रकम नेपालको उर्जा र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहुनेछ ।’
भेटमा सोमारले नेपालमा राजनीतिक स्थिरताको वातावरण बन्दै गएकोमा खुसी व्यक्त गर्दै सबैको भावना सम्बोधन गरेर संविधान कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । सोमारले नेपालको आर्थिक विकास र पूर्वाधारको क्षेत्रमा कर्पोरेशनको अधिकतम् लगानी हुने पनि भेटका अवसरमा जानकारी दिनुभयो ।