सम्झौताको राजनीतिका जटिलताहरु छन्, ‘प्रधानमन्त्री’

सम्झौताको राजनीतिका जटिलताहरु छन्, ‘प्रधानमन्त्री’

भदौ १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारण आफूले चाहेर पनि विगतमा धेरै गर्न नसकेको बताउनुभएको छ ।
आइतबार साँझ दाङबाट आएको जनयुद्धका घाइते र अपाङ्ग योद्धाहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई मिलाएर लानुपर्ने र सबैका भावना समेट्नुपर्ने कारण विगतमा चाहेर पनि धेरै काम गर्न सकिएन । तर, यसपटक परिणाममूखी काम गर्नेछु ।’ भेटमा प्रधानमन्त्रीले जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचन भएको उल्लेख गर्दै भन्नुभयो, ‘यो हाम्रा लागि जोखिमपूर्ण अवसर हो । यसलाई फलदायी र उपलब्धिमूलक बनाउने संकल्प गरेको छु । यसपटक जनयुद्धका शहिद, बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरुको पक्षमा केही न केही काम गर्नेछु ।’ सो अवसरमा प्रधानमन्त्रीले युद्धका घाइते र अपाङ्ग योद्धाहरुको जीवन निर्वाह भत्ता वृद्धि गर्ने बताउनुभयो ।
चक्रपाणि शर्माको नेतृत्वमा दाङबाट आएको टोलीले जनयुद्धका घाइते र अपाङ्गहरुको जीवन निर्वाह भत्ता दोब्बर गर्न, सहज र सुलभ उपचारको व्यवस्था गर्न, पूर्ण सहुलियत सहितको राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न, राजनीतिक नियुक्तिहरुमा घाइते, अपाङ्गहरुलाई प्राथमिकता दिन, जीवन निर्वाह भत्तालाई पेन्सनमा रुपान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।