तत्काल भूगर्वविद्को टोली पठाउँछु, ‘प्रधानमन्त्री’

तत्काल भूगर्वविद्को टोली पठाउँछु, ‘प्रधानमन्त्री’

भदौ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्युठानमा आएको बाढी पहिरो र त्यसले गरेको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्वविद्को टोली पठाउने बताउनुभएको छ ।
बिहीबार अपरान्ह एमाले नेता बामदेव गौतमको नेतृत्वमा आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले तत्कालै भूगर्वविद्को टोली पठाउने बताउनुभएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘क्षतिको प्रकृति हेर्दा प्युठानको बाढी पहिरो सामान्य छैन । यसलाई मैले गम्भीरतापूर्वक हेरेको छु । क्षतिको यथार्थ विवरण संकलन, राहत र पूनर्बासको अध्ययनका लागि तत्कालै भूगर्वविद्सहितको टोली प्रभावित क्षेत्रमा पठाउँछु ।’
प्रधानमन्त्रीले सरकारले मन्त्री परिषद्को पहिलो बैठकबाटै बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पु¥याएको निर्णय स्मरण गराउँदै टोलीको अध्ययनपछि थप राहत र पूनस्र्थापनाको काम गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिला भूगर्वविदको टोली पठाऔं । त्यसले बाढी पहिरोको यथार्थ रिपोर्ट दिएपछि राहत र पूनर्बासका लागि सरकारले थप निर्णय गर्नेछ ।’
भेटमा एमाले नेता गौतमले यस वर्षको बाढी पहिरोले प्युठानमा मात्रै ५३ जनाको मृत्यु भएकाले यसलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । सर्वदलीय प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा बाढी पहिरोबाट बिस्थापितहरुका लागि खाद्यान्न र सुरक्षित बासको व्यवस्था गर्न, भूगर्वविद् सहितको टोली पठाएर पहिरो रोकथाम र नयाँ बस्तीका लागि अध्ययन गर्न, बाढीले यातायात बिच्छेद भएकाले सडकको मर्मत गर्न, पुल र कुलो मर्मतको व्यवस्था गर्न, एकीकृत परियोजनामार्फ्त पूनर्निर्माणको व्यवस्था गर्न र बाढी पीडितलाई भूकम्प पीडित सरहको राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिनिधि मण्डलमा एमाले नेता गौतम, माओवादी केन्द्रका नेताहरु रेखा शर्मा, कृष्णध्वज खड्का, नेपाली कांग्रेसका मुक्तिप्रसाद शर्मा, नयाँ शक्ति नेपालका नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, क्रान्तिकारी माओवादीका शिबराज पोख्रेल लगायतका नेताहरु सहभागी हुनुभएको थियो ।