सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकास, ‘प्रधानमन्त्री’

सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकास, ‘प्रधानमन्त्री’

मंसिर ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नीजि क्षेत्रको सहकार्यमा मात्रै आर्थिक विकासले गति लिनसक्ने बताउनु भएको छ ।
बिहीबार दिउँसो चन्द्रागिरी हिल लिमिटेडले आयोजना गरेको केबुलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकार र नीजि क्षेत्रको सहकार्यमा देशले ठूलठूला आर्थिक उपलब्धि हासिल गर्नसक्ने बताउनु भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार र नीजि क्षेत्रको राम्रो तालमेल र सहकार्य भयो भने ठूलठूला आर्थिक उपलब्धि र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुराको सन्देश तपाईहरुको यो केवुल कारसहितको पर्यटन प्रवद्र्धनले दिएको छ । सरकार नीजि क्षेत्रसँगको सहकार्यमा देशको आर्थिक विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । त्यसमा तपाईहरुको केवुलकारले पनि महत्वपूर्ण योगदान गर्नेछ ।’
इच्छाशक्ति र उत्प्रेरणा भयो भने धेरै कुरा गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘यति छिटै तपाईहरुले व्यवस्थित संरचना बनाउनु भएको होला भन्ने मलाई लागेको थिएन, ईच्छाशक्ति र उत्प्रेरणा भयो भने धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने कुरा तपाईहरुले प्रमाणित गरेर देखाउनु भएको छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
समुद्घाटनका क्रममा प्रधानमन्त्रीले आफूले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘म प्रधानमन्त्रीमा निर्वाचन भएदेखि नै मेरो ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा छ । मैले कुलेखानीबाट सुरु गरेको अनुगमन अहिले पनि जारी छ । मेरो अनुगमनपछि धेरै आयोजनाको काम रफ्तारमा अघि बढेको छ । समयभन्दा छिटै आयोजेना सम्पन्न गर्ने आयोजना प्रमूख र कर्मचारीहरुलाई सरकारले पुरस्कृत गर्ने घोषणा गरिसकेको छ । ईच्छाशक्तिमा केही पूँजी थपेर केही गरौं भन्ने सोच राखियो भने धेरै कुरा सम्भव छ ।’
सद्घाटन समारोहमा बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी, सामान्य प्रशासन मन्त्री केशव बहादुर बुढाथोकी लगायतका अतिथिहरुले चन्द्रागिरी हिलले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो ।