सरकारको ध्यान ठूला आयोजना निर्माणमा छ, ‘प्रधानमन्त्री’

सरकारको ध्यान ठूला आयोजना निर्माणमा छ, ‘प्रधानमन्त्री’

फाल्गुण ४, पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मूख्य ध्यान ठूला जलासययुक्त आयोजनाहरुको निर्माणतिर भएको बताउनु भएको छ । पाँचथर जिल्लाको नागिनमा पाँचथर पावर कम्पनि लिमिटेडद्धारा निर्मित १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ । सरकारको ध्यान मूख्य रुपमा ठूला जलासययुक्त आयोजना निर्माणमा छ । कम्पनि मोडलबाट तमोर जलासययुक्त आयोजना अघि बढ्दैछ । बुढीगण्डकी, तल्लो कर्णाली, पश्चिम सेतीजस्ता आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ, सरकार यही विश्वासमा छ ।’
राजनीतिक विषयमा बोल्दै प्रधानमन्त्रीले देशमा निर्वाचनको वातावरण बन्दै गएको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र मेरो बीचमा लामो कुराकानी भयो । निकै उत्साहित कुराकानी भयो, म आज निकै उत्साहित छु । आज बिहान फेरि हामी तिनै जना र विद्यार्थीहरुका पदाधिकारीहरुको बैठक बस्यो । अब देशलाई निर्वाचनको दिशामा लैजानुपर्छ भन्नेमा राम्रो समझदारी बनेको छ ।’
त्यसै गरी उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनताहरु विकासको भोका भएको बताउनु भयो । मन्त्री शर्माले भन्नुभयो, ‘नेपाली जनता विकासका भोका छन् । जनता विकासका लागि लामो समय पर्खन सक्दैनन् । छिटो तरिकाले विकासलाई सम्पन्न गर्नु हाम्रो आवश्यकता हो । तर, हाम्रा काम गर्ने तौरतरिका पुरानै छन्, यसले जनताको विकासको भोकलाई मेट्न सकेको छैन । सम्माननीय प्रधानमन्त्रीज्यूको अगुवाईमा उज्यालो नेपाल अभियान चलिरहेको छ । उज्यालो नेपाल अभियान बत्ती बाल्ने अभियानमा मात्र नभएर देशलाई स्वाधीन र समृद्ध बनाउने रणनीतिक अभियान पनि हो ।’
कार्यक्रममा पूर्वसभामूख सुवासचन्द्र नेम्वाङले आयोजनाको उद्घाटनले पाँचथर जिल्ला उज्यालो जिल्ला बन्ने पूर्वाधार तयार भएको बताउनु भयो । नेता नेम्वाङले जलविद्युत आयोजना बटन थिचेर उद्घाटन गरेजस्तै निर्वाचनको बटन थिचेर संविधान कार्यान्वयन गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, सांसदहरु भीष्मराज आङ्दाङ्वे, गणेशकुमार काङ्वाङ्, उमेशकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा १४.९ मेघावाटको जलविद्युत आयोजना २०६७ सालबाट प्रारम्भ गरिएको, २ अरब ६० करोड लगानीमा आयोजना सम्पन्न गरिएको र नेपालमा निर्माणाधीन आयोजनामध्ये कम लागतमा आयोजना सम्पन्न गरिएको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो ।