सबैको सहमतिमा बिदा दिने निर्णय गरिएको हो, ‘प्रधानमन्त्री’

सबैको सहमतिमा बिदा दिने निर्णय गरिएको हो, ‘प्रधानमन्त्री’

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिँदा राम्रो हुने राजनीतिक दलका नेताहरु लगायत सुरक्षा निकायबाट राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो । उक्त बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीहरु प्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।’
भेटमा प्रधानमन्त्रीले विद्यार्थीहरुको एकताले आफू प्रभावित भएको भन्दै आफू सबैसँग समान धारणा बनाएर महाअभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हरेक काममा तपाईहरुले जुन एकता प्रदर्शन गर्नुभएको छ, यसले राजनीतिक नेताहरुलाई पनि प्रेरणा मिलेको छ । अख्तियारको दुरुपयोग रोक्ने, सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाअभियोग लगाउनुपर्ने बाध्यता पक्कै राम्रो होइन । तर, यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा पक्कै दिन्छ ।’
भेटमा विद्यार्थी नेताहरुले संसदमा पेश भएको महाअभियोग प्रस्ताव सकारात्मक रहेको भन्दै प्रस्ताव पारित गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।