संसद अवरुद्ध गर्दैमा निर्वाचन रोकिँदैन, ‘प्रधानमन्त्री’

संसद अवरुद्ध गर्दैमा निर्वाचन रोकिँदैन, ‘प्रधानमन्त्री’

पौष ८, गोरखा बजार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दैमा निर्वाचन नरोकिने बताउनु भएको छ । शुक्रबार गोरखा उद्योग वाणिज्य संघले गोरखा बजारमा आयोजना गरेको नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसद अवरोधले निर्वाचन नरोकिने बताउनु भएको हो ।
महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर, आरोपित गरेर राष्ट्रिय एकता बलियो हुँदैन । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्न, राष्ट्रिय एकता सुदृढ गर्न र मुलूकमा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । निर्वाचन सम्बन्धि विद्येयक संसदमा पेश भएका छन् । यस्तो बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेको छ । तर, संसद अवरुद्ध गर्दैमा निर्वाचन रोक्न सकिँदैन । सरकार निर्वाचन गर्न प्रतिवद्ध छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘अघि एक जना वक्ताले मेरो नेतृत्वको सरकारलाई अनौठो सरकार भन्नुभयो । यो अनौठो सरकार नै हो । लोडसेडिङ घटाउने, हिमाल, पहाड र तराईलाई जोड्ने, देशमा निर्वाचनको वातावरण बनाएर संविधान कार्यान्वयन गर्ने, पूनर्निर्माणलाई तिब्रता दिने अनोठौ सरकार हो । देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको नेतृत्व गर्ने अनौठो सरकार हो । देश र जनताको पक्षमा काम गर्दा कसैलाई अनौठो लाग्छ भने त्यसमा म खुसी नै हुन्छु ।’
समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावको आविष्कारक एमाले हो । अझ पाँच नम्वर प्रदेशको संशोधनसम्बन्धि प्रस्ताव एमालेको खाका हो । माओवादी त दश प्रदेश नै चाहन्थ्यो । तर, सबैलाई मान्य हुन्छ भने हिजो एमाले र कांग्रेसले अघि सारेको प्रस्तावमा सहमति जुटाएर निर्वाचनमा जाउँ भन्ने सरकारको धारणा हो । प्रतिपक्षीका साथीहरु संसदीय मान्यतामा विश्वास राख्नु हुन्छ भने संसदीय प्रक्रियाबाटै विरोध गर्नुहोस् । तर, महाअभियोग प्रस्ताव र निर्वाचन रोकेर देशलाई अनिर्णयको बन्दी नबनाउनोस् ।’
आर्थिक समृद्धि र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरिएको छ । मैले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर अनुगमन गरिरहेको छु । मेरो अनुगमनपछि विकास, निर्माणका कामले तिब्रता पाएका छन् । सरकार पूनर्निर्माणका लागि थप कठोर कदम चाल्ने तयारीमा छ । सरकारले विकास र आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।’
महोत्सवलाई उर्जामन्त्री जनार्दन शर्मा, पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायतले सम्बोधन गर्नुभएको थियो । कृषि, पर्यटन र व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सव पौष ८ गतेदेखि १६ गतेसम्म चल्ने महोत्सव संयोजक श्रवणकुमार जोशीले जानकारी दिनुभयो ।