संविधान दिवस समारोहलाई प्रधानमन्त्रीद्वारा सम्बोधन

संविधान दिवस समारोहलाई प्रधानमन्त्रीद्वारा सम्बोधन

असोज ३, काठमाडौं । प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवस, २०७३ को अवसरमा सैनिक मञ्च टुँँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको छ ।
टुँडिखेलमा आयोजित समारोहमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्वका कुनै पनि संविधान एकैचाटी पूर्ण भएका छैनन् । समय समयमा हुने संशोधनबाट संविधान परिस्कृत र परिपक्व हुने हो । नेपालको संविधान पनि गतिशील र जीवन्त दस्तावेज भएकाले हाम्रो मूलुकको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार यसलाई संशोधन गर्नुपर्ने हुन्छ । यस अवसरमा संविधानको दायरा फराकिलो पारेर कार्यान्वयन गर्न हामीलाई सफलता मिल्नेछ ।’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले ‘संविधान संशोधनमार्फत् मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका गुनासाहरुको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता फराकिलो पारेर संविधान कार्यान्वयन हुने’ विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा प्रधानमन्त्रीले तीनै तहका निर्वाचन सम्पन्न गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै सबै पक्षसँग सघन सम्वादको प्रक्रियाबाट छिटै स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमूख आतिथ्यतामा सम्पन्न संविधान दिवस, २०७३ को विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमूखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा अंगका प्रमूखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प बृष्टि गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको दस्ताद्वारा मार्च पास गरिएको थियो । साथै सरकारी तथा गैर–सरकारी क्षेत्रका प्रतिनिधिहरुले समारोहमा विभिन्न समुदायको संस्कृति झल्कने झाँकी प्रस्तुत गर्नुभएको थियो भने नेपाल खेलकूद परिषद्का खेलाडीहरुले विभिन्न खेलहरु प्रस्तुत गर्नुभएको थियो ।