विश्व वातावरण दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

विश्व वातावरण दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएकोमा आजको दिन (जेठ २२ गते तद्नुसार जुन ५, २०१७) “प्रकृतिसँग हाम्रो सम्बन्धः रही रहोस् अनन्त (Connecting People to Nature)’ भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाउन लागिएकोमा खुसी व्यक्त गर्दछु ।
पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो । हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दीगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।
जनसंख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा बन, जैविक विविधता र प्रकृतिको बिनास, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याहरूले प्रकृतिको स्वाभाविक चक्रलाई अवरुद्ध गरेको छ । स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिवद्ध एवं एकतावद्ध हुनु आवश्यक छ । दीगो विकास र वातावरण संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा योजना तथा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिवद्ध रहन यस दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक अपील गर्दछु ।
अन्त्यमा, विश्व वातावरण दिवस, २०७४ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै यस दिवसले हामी सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२२ जेठ, २०७४