विजयादशमी, २०७३ को अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश

विजयादशमी, २०७३ को अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश

नेपाली हिन्दूहरुको विशेष पर्व बिजयादशमीको मूख्य दिन बडादशैंको सुखद् उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो । विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार जस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् ।
विविधतायूक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो । दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका छन् । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो ।
नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ । राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन ग¥यौं, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ । अर्कोतिर, भूकम्पको पूनर्निर्माण र राष्ट्रिय नवर्निर्माण पनि हाम्रासामू चुनौतिपूर्ण अवसरका रुपमा उभिएको छ । हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतिलाई अवसरमा बदल्न सकिन्छ र बदल्नु पर्दछ । चुनौतिलाई अवसरमा बदल्न दशैं लगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन ।
राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पूनर्परिभाषित र पूनर्संस्कार गर्न जरुरी छ । हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पूनर्विचार गर्नैपर्दछ । यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।
बडादशैं २०७३ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गर्दछु । यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस्, राष्ट्रिय एकता, संविधान कार्यान्वयन, पूनर्निर्माण र नवर्निर्माण, जनताको जीवनमा परिवर्तनका लागि दृढ संकल्प र इच्छाशक्तिको विकास गर्न सकोस् । अन्त्यमा नेपालीहरुका आउँदै गरेका पर्वहरु तिहार, नेपाल सम्वत्, छठ, ल्होसारको उपलक्ष्यमा समेत हार्दिक शुभकामना व्यक्त गर्दै बिजयादशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री