विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छु, ‘प्रधानमन्त्री’

विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छु, ‘प्रधानमन्त्री’

असोज ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विकास समृद्धिको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
मंगलबार चितवनको माडीबाट आएको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसपटक केही न केही परिणाममूखी काम गर्ने अठोट गरेको छु । तपाईले माडीको शैक्षिक र पूर्वाधार विकासमा देखाएको चासो सकारात्मक छ, यसलाई सम्बोधन गर्न मेरो तर्फबाट कोशिस गर्नेछु ।’
प्रधानमन्त्रीले आफूले पदभार ग्रहण गरेदेखि नै सरकारका कामलाई जनतातिर फर्काउने प्रयासमा लागेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले पदभार ग्रहण गरेदेखि नै कामलाई जनतातिर फर्काउने कोशिस गरिरहेको छु, अर्कोतिर राष्ट्रिय रुपमा सहमतिको वातावरण बनाउन पनि उत्तिकै क्रियाशील छु । यहाँहरुको तर्फबाट पनि राष्ट्रिय एकता हासिल गर्ने दिशामा सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।’
प्रधानमन्त्रीले सात प्रदेशमा उच्च अदालत गठनमा जुटेको सहमतिले राष्ट्रिय सहमतिको ढोका खोलेको बताउनुभयो । ‘अदालत गठनमा सहमति जुटेर प्रक्रिया अगाडि बढिसकेको छ । स्थानीय तह पूनर्संरचनामा पनि सहमति जुटेको छ । अब संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बन्दैछ’ प्रधानमन्त्रीले भन्नुभयो ।
भेटमा प्रतिनिधि मण्डलले माडीको यातायात, भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकासमा सहयोग गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो ।