विकासका लागि बिदामा पूनर्विचार आवश्यक, ‘प्रधानमन्त्री’

विकासका लागि बिदामा पूनर्विचार आवश्यक, ‘प्रधानमन्त्री’

माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि विद्यमान बिदामा पूनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । ६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले बिदा कटौति आवश्यक रहेको बताउनु भएको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीकहाँ धेरै क्रान्ति भए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मान पनि गर्नु छ । तर, बिदा थपिँदै गएर विकास र समृद्धिका काममा बाधा पुग्ने अवस्था पनि त्यत्तिकै छ । त्यसैले हामीले कुन दिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमा मान्ने भनेर सोच्नैपर्ने भएको छ । बिदा थप्ने होइन, कटौति गर्नेतिर सोच्नुपर्छ ।’
प्रधानमन्त्रीले राज्यद्धारा आयोजित कार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिता कमजोर हुने र जीवन्त नहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँग जनताको सहभागिता सुनिश्चित गर्ने गरी जीवन्त कार्यक्रम बनाउन आग्रह गर्नुभयो । बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।
६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फाल्गुण ६, ७ र ८ गते प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने, त्यसका लागि विभिन्न उपसमितिहरु बनाउने र जिल्लास्तरमा समेत कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।