‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने मन्त्रीपरिषदको निर्णय

‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने मन्त्रीपरिषदको निर्णय

बैशाख २५, काठमाडौ । चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबिओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीनबाट नेपाल भारत हुँदै यूरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्नेे निर्णय गरेको हो ।
बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । ‘यही बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, उहाँले भन्नुभयो ‘प्रतिनिधि मण्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्ने छ ।’
यस्तै सोमबारको बैठकले काठमाडौं उपत्यकाको चारै सुरमा नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ । उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित वसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरेको हो ।
बैठकले सप्तरी, मोरङ्ग र ताप्लेजुङ्गमा मृत्यू भएका ७ जनालाई शहिद घोषणा गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी बैशाख २९ गतेदेखि थाइल्याण्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि सोमबारको बैठकले गरेको छ ।