राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १६औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री एवं परिषद्का अध्यक्षज्यूको सम्बोधन

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १६औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री एवं परिषद्का अध्यक्षज्यूको सम्बोधन

राष्ट्रिय सुरक्षा परिषद्का माननीय सदस्यहरु,
विभिन्न मन्त्रालयका सचिवहरु,
सुरक्षा निकायका प्रमुखहरु,
अन्य उपस्थित विशिष्ट महानुभावहरु एवं
यस सचिवालयमा कार्यरत राष्ट्रसेवकहरु,

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्वन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन एवं नियन्त्रण गर्ने सम्वन्धी सरकारलाई सिफारिस गर्ने हेतुले संविधानले व्यवस्था गरेको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आज सोह्रौ बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित यस समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ । यस पावन अवसरमा म सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

बिगत १६ बर्षको अवधिमा यस सचिवालयले आफ्नो जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गर्दै राष्ट्रिय सुरक्षामा अहम भूमिका खेल्दै आईरहेको मैले पाएको छु । नेपाल सरकारको निजामती तथा सबै सुरक्षा निकायका विज्ञ र सक्षम अधिकृतहरु नियुक्त भई आउने यस सचिवालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित आन्तरिक तथा बाह्य खतरा र चुनौतीहरु सम्बन्धी भरपर्दो सूचनाहरु संकलन गर्ने¸ विश्लेषण गर्ने, सूचना प्रवाह गर्ने र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार समूहको रुपमा कार्यरत रहने निकाय हो भन्ने मेरो बुझाई रहेको छ ।

विश्वको वर्तमान परिवेशमा सुरक्षा भन्नाले विविध क्षेत्रभित्रका बहुआयामिक बिषयबस्तुहरु समेटिएको राष्ट्रिय सुरक्षाको वृहत रणनीति हो भन्ने बुझ्‌नु पर्दछ ।सुरक्षा बृहत र बहु(आयामिक विषय भएकोले यसले मुलुकको सार्वभौमिकता¸ राष्ट्रिय अखण्डता¸ भौतिक¸ सामाजिक¸ आर्थिक¸ सांस्कृतिक र मानवीय पक्षलाई समेत समेट्दछ । राष्ट्रिय सुरक्षा अन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरु¸ राष्ट्रिय सम्मान र गौरवका विषयवस्तु लगायत आम जनताको जिउधनको सुरक्षा एवं सामाजिक(सांस्कृतिक मूल्य मान्यताको संरक्षण समेत पर्दछन् । यसका अलावा वातावरण¸ सुशासन¸ विकास र मानव अधिकारको पक्षलाई पनि राष्ट्रिय सुरक्षाले समेट्दछ ।

विश्वमा भईरहेको द्रुत विकासको परिवर्तनले हाम्रो समाजमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो मुख्य भुमिकालाई अक्षुण राखी विश्लेष्णात्मक क्षमतालाई अभिबृद्धि गर्दै, दिएको संवैधानिक जिम्मेवारीलाई उच्चतम् पेशागत प्रणालीको कसीमा सदैव खरो रुपमा उतारेको पाएको छु ।

विद्यमान अवस्थामा राष्ट्रहरु बिच हुने ठूलाठूला युद्धहरुको तुलनामा राष्ट्रभित्रै हुने आन्तरिक संघर्षहरु सापेक्षिक रुपमा बढिरहेका छन् ।गरिबी, बेरोजगारी, सामाजिक विभेद तथा अतिवादी सोचाईले गर्दा द्धन्दका स्वरुपहरु बदलिएका छन्। भूमण्डलीकरण तथा प्रविधिको द्रुत विस्तारले गर्दा अन्तर्राष्ट्रिय अपराधीहरुले सहज रुपमा सूचना, श्रोत साधन तथा जनशक्ति प्राप्त गर्दै आईरहेकोले कुनै पनि मुलुकलाई अन्तर्राष्ट्रिय सुरक्षा वातावरणबाट समेत अलग रहन मुस्किल भएको छ ।

परम्परागत अवधारणामा राष्ट्रिय सुरक्षालार्इ एक राष्ट्रले अर्को राष्ट्रमाथि गरिने आक्रमण वा अतिक्रमणको विरुद्धमा हुने रक्षा नीतिलाई मात्र बुझिन्थ्यो भने हाल आएर यो नयाँ अवधारणा र आयामहरुमा विकास भएको पाईन्छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय र सामाजिक परिवेशमा ज्ञान¸ विज्ञान र प्रविधिको विकाससँगै जटिल बन्दै गईरहेको राष्ट्रिय सुरक्षाको अवधारणामा राष्ट्रले अपनाउने सुरक्षाका विविध विषयहरु जस्तैस राजनैतिक, आर्थिक, सामाजिक, कुटनैतिक, सूचना र पर्यावरण आदि समेत समावेस हुन आउँछन् ।

मुलुकलाई जटिल परिस्थितिबाट निकास दिने सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले विद्यमान परिस्थितिमा यी समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय सुझाव प्रदान गर्न सक्षम हुनु पर्दछ भन्ने मेरो धारणा रहेको छ । विगतमा यस सचिवालयबाट सम्पादित अनुसन्धानमूलक अध्ययन, विश्लेषण तथा कार्यशालाहरुबाट प्राप्त सुझावहरुको महत्वलाई हृदयङ्गम गरी आवश्यकता अनुसार कार्य सम्पादन तथा कार्यान्वयन हुने छन् भन्ने कुरामा म विश्वसत छु र सचिवालयको कार्यक्षेत्र र जिम्मेवारीलाई थप शसक्त व्यवसायिक एवं गरिमामय बनाउन आवश्यक रहेको मैले महसुस गरेको छु ।

साथै राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको यस परिषद्ले राष्ट्रिय सुरक्षाका आम विषयमा स्वतन्त्र र निष्पक्ष ढंगले नीतिको कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्ने छ भन्ने विश्वास पनि लिएको छु ।

अन्तमास राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको सोह्रौं बार्षिकोत्सवको उपलक्ष्यमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै समारोहका आयोजक, सचिवालयका सदस्य सचिव लगायत राष्ट्रसेवक कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप हौसला सहित उच्च मनोवल र जाँगरका साथ कार्यरत रहन प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।
मितिः २०७३ चैत्र २० गते