राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालेमल हुनुपर्छ, ‘प्रधानमन्त्री’

राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालेमल हुनुपर्छ, ‘प्रधानमन्त्री’

श्रावण २७, काठमाडौं । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालमेल हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पोखरा विश्वविद्यालयको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘देशलाई चाहिने जनशक्ति कति हो, आवश्यकता कति हो, कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ, त्यसको अनुपातमा शैक्षिक क्षेत्रले जनशक्ति उत्पादन गर्नेतिर जानुपर्छ ।’ प्रधानमन्त्रीले अहिले उत्पादन भइरहेको जनशक्ति र राष्ट्रिय आवश्यकताबीच दरार रहेको भन्दै यसको उचित तालमेलको नीति आवश्यक भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री नै सबै विश्वविद्यालयको कुलपति हुने व्यवस्था वैज्ञानिक नभएको भन्दै यसको बिकल्पतिर सोच्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैन । विज्ञता र विषयको बिशिष्टताका आधारमा कुलपति नै नियुक्ति गर्ने व्यवस्था गर्नु नै वैज्ञानिक हुन्छ ।’
प्रधानमन्त्रीले परिमार्जनसहित संविधानको कार्यान्यवन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र राहत, प्रभावकारी सेवा एवं सुशासन र आर्थिक समृद्धि नयाँ सरकारका मूख्य लक्ष्य भएको बताउनुभयो ।
सभामा पोखरा विश्वविद्यालयका उपकुलपति, रजिष्टार, सभासद्हरुले विश्वविद्यालयले लिनुपर्ने नीतिका बारेमा धारणा राख्नुभएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न सभाले पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, आर्थिक वर्ष २०७३/०७४ को नीति, कार्यक्रम र बजेट, छात्रवृत्ति सम्बन्धि व्यवस्था लगायतका महत्वपूर्ण विषयमा छलफल गरी नियमावली संशोधन गरेको छ ।