राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूखमा महिला पुग्नु जनयुद्धको देन, ‘प्रधानमन्त्री’

राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूखमा महिला पुग्नु जनयुद्धको देन, ‘प्रधानमन्त्री’

९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताउनुभएको छ ।
बिहीबार ने.क.पा. (माओवादी केन्द्र) निकट महिलाहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ । नेपालमा जनयुद्ध हुदैनथ्यो भने यो सम्भव थिएन । यो नेपाली जनयुद्धको देन हो ।’
प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिसकेको छ । नीति निर्माणको तहमा महिलाहरुको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्दछु ।’
प्रधानमन्त्रीले महिलाहरु बिभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै एकताले त्यसमा उर्जा प्रदान गर्ने बताउनुभयो । प्रधानमन्त्रीले नयाँ सरकार गरीबको पक्षमा रहेकोमा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरीबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणति भएको बताउनुभयो ।
कार्यक्रममा महिला नेताहरु शान्ता राई, उर्मिला अर्याल, रेखा शर्मा, जयपुरी घर्ति, अमृता थापामगर, देवी खड्का लगायतले महिला आन्दोलनको औचित्य र भूमिकाबारे बोल्नुभएको थियो ।