राजनीतिक परिवर्तनमा प्रेस जगतको भूमिका उच्च—‘प्रधानमन्त्री’

राजनीतिक परिवर्तनमा प्रेस जगतको भूमिका उच्च—‘प्रधानमन्त्री’

असोज १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा प्रेस जगतको भूमिका उच्च रहेको बताउनु भएको छ ।
प्रेस सेन्टर, नेपालको एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘पञ्चायत र राजतन्त्रकालमा प्रेस जगतले सकारात्मक भूमिका नखेलेको भए परिवर्तन निकै कठिन हुन्थ्यो । प्रेसले खेलेको सकारात्मक भूमिकाले नेपालमा गणतन्त्र, संघीयता, समावेशिता जस्ता मुद्धा स्थापित भएका छन् । देशको राष्ट्रिय एकता मजभूत पार्दै संविधान कार्यान्वयन गर्ने प्रक्रियामा प्रेसको भूमिका थप बढेको छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध कालमै आफूले कलम, मादल र बन्दुकको संयोजनको महत्व बोध गरेको बताउँदै भन्नुभयो, ‘कलम, मादल र बन्दुकको संयोजनको कुरा मैले त्यसै गरेको होइन । प्रेसको भूमिकालाई उच्च स्थान राखेर नै हामीले भूमिगतकालमा पनि रेडियो लगायतका सञ्चार माध्यमहरुको विकास र बिस्तारमा जोड दिएका थियौं ।’
कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कार्यभार बाँकी रहेको भन्दै संविधान र संघीयता कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भूसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट लगायतका वक्ताहरुले प्रेसको भूमिका र आवश्यकताबारे बोल्नुभएको थियो ।