मूख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म अंगीकृत हुँदैनन्, ‘प्रधानमन्त्री’

मूख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म अंगीकृत हुँदैनन्, ‘प्रधानमन्त्री’

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मूख्यमन्त्रीदेखि राष्ट्रपति सम्मका पदमा निर्वाचित हुन नपाउने बताउनु भएको छ ।
शुक्रबार कास्की जिल्लाको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधनका विषयमा बजारमा अनेकौं हल्ला चल्ने गरेका छन्, ती हल्ला सत्य होइनन् । सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ । तर, संविधान संशोधनमा मूख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा बंशजको नागरिक मात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ, अंगीकृतले पाउँदैनन् ।’
प्रधानमन्त्रीले नागरिकताको सवालमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग बिवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नागरिकतामा अरु संशोधन हुँदैन, विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेपछि आफ्नो देशको नागरिकता त्याग्छ भने नेपाली अंगीकृत नागरिकता पाउन सक्नेबारे छलफल चलिरहेको छ । सीमाङ्कनका सम्बन्धमा विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोजिन्छ । भाषाका बारेमा आयोगलाई अधिकार दिइन्छ र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे पनि भूगोल र जनसंख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिन्छ ।’
प्रधानमन्त्रीले सरकारले पुरक बजेटको तयारी गरिरहेको जानकारी दिँदै पुरक बजेटमा गरिबका लागि सरकार, जनता पेन्सन कार्यक्रम र बेरोजगार युवाहरुलाई रोजगारी दिन नसके बेरोजगार भत्ता दिने व्यवस्था गरिने जानकारी दिनुभयो । कास्की जिल्ला रणनीतिक महत्वको जिल्ला भएको भन्दै पुरक बजेटमा कास्कीका विकास निर्माणका योजना समावेश गरिने बताउनुभयो ।
भेटमा माओवादी केन्द्रका नेताहरुले पोखरामा चक्रपथ निर्माण, पोखरा उपत्यका ताल संरक्षण प्राधिकरण गठन, अन्तर्राष्ट्रिय चीडियाखाना निर्माण, प्रदेशस्तरीय बसपार्क निर्माण, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, ढिकुरपोखरी पोलिटेक्निकल कलेज निर्माण लगायत सडक, पुल, शिक्षा, सिंचाई, खानेपानी, भवन र पर्यटनसँग सम्बन्धित विकास योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटमा कास्कीका नेताहरुले आफ्नो जन्मस्थान भएका कारण आगामी निर्वाचन कास्कीबाट चुनाव लड्ने गरी सोच्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।