मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

फागुन २५, काठमाडौं । मन्त्रीपरिषदको बैठक बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ ।
बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
बुधबारको बैठकले सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई दश लाख रुपैयाँ राहत र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो ।