मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

पौष ७, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले द्रुतमार्ग नेपालले निर्माण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
बिहीबारको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिले द्रुतमार्ग नेपाल आफैले निर्माण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । बैठकले द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्ने अधिकार समितिलाई दिएको छ ।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ । त्यसै गरी राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप पचसत्तर लाख रुपैयाँ रकम दिने पनि बैठकले निर्णय गरेको छ । बैठकले शुक्लाफाँट बन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।
आजको बैठकले शान्ति कोष स्थापना गर्ने, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त विषयको विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले मानव कृतिम अंग प्रत्यारोपणका सम्बन्धमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने, नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।