मजदुरका समस्या समाधान गर्न प्रधानमन्त्री गम्भीर

मजदुरका समस्या समाधान गर्न प्रधानमन्त्री गम्भीर

कार्तिक २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ ।
शनिबार बिहान बालुवाटारमा अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न गम्भीर भएको बताउनु भएको हो । प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले अहिले गर्न सकिने जति सबै समस्या समाधान गर्न आफ्नो ध्यान रहने स्पष्ट गर्नुभयो ।
भेटमा ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गर्नुभयो । उहाँले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था गर्न, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, इ–रिक्सालाई व्यवस्थित पार्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सबै माग जायज रहेको भन्दै यसलाई पुरा गराउन आफूले पहल गर्ने बताउनु भयो ।