बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी गर्नुभएको शुभकामना सन्देश

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी गर्नुभएको शुभकामना सन्देश

२५६१औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मालम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्न पाउँदा खुसी लागेको छ।
नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो। विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो। बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवं सद्भोवसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्।जनताको लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै संबिधानको सफल कार्यान्वयनको लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको छ। समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन गरी प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिहरुको सम्बोधन गर्दै विकास र प्रगति सहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु।
नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन्। शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्तत गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ। बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरु विश्व भर नै धेरै लोकप्रिय हुन सकेका हुन्। गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं।उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।
बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्वी भातृत्वको भावनालाई आत्मसाथ गर्दे सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै संविधानको सफल कार्यान्वयन सहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै सबैमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु।

वैशाख, २०७४
पुष्प कमल दाहाल (प्रचण्ड)