फास्ट ट्रयाक मेरै हातबाट शिलान्यास हुन्छ, ‘प्रधानमन्त्री’

फास्ट ट्रयाक मेरै हातबाट शिलान्यास हुन्छ, ‘प्रधानमन्त्री’

माघ २९, निजगढ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फास्ट ट्रयाक आफ्नै हातबाट शिलान्यास हुने बताउनु भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को स्थलगत निरीक्षणपछि निजगढमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘फास्ट ट्रयाकबारे केही अन्यौल थिए । फास्ट ट्रयाक नेपालले नै बनाउने निर्णय गरिएको छ । फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । समितिलाई फास्ट ट्रयाकको मोडालिटी र आर्थिक व्यवस्थापनबारे सुझाव दिन भनिएको छ । समितिले काम गरिरहेको छ । एक हप्ताभित्र समितिले प्रतिवेदन बुझाउने छ र सरकारले निर्माण कार्यलाई अगाडि बढाउने छ । यो आयोजना मेरै कार्यकालमा मेरै हातबाट शिलान्यास हुन्छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले निजगढ बिमानस्थलको कामलाई तिब्रता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजगढ बिमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको बैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर छ । चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेका छन् । जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर हामी बिमानस्थलको कामलाई थप तिब्रता दिनेछौं ।’
कार्यक्रममा उर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वमन्त्री मातृका यादव, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, व्यवस्थापिका—संसदका सदस्यहरु लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमका वक्ताहरुले द्रुत मार्ग नेपालकै राष्ट्रिय गौरवको आयोजना भएकोमा जोड दिँदै हाम्रै पालामा आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा काठमाडौं—निजगढ द्रुत मार्गका आयोजना प्रमूख सतेन्द्र शाक्यले आयोजनाको प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो भने निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलका आयोजना प्रमूख हरि अधिकारीले बिमानस्थलको प्रगति अवस्थाबारे जानकारी गराउनु भएको थियो । फास्ट ट्रयाक नेपाल आफै शिघ्र सञ्चालन गर्न र बिमानस्थल शिघ्र निर्माण गर्न दवाव दिन फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल संघर्ष समितिले १०० दिने रिले अनसन लगायतका दवावका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।