सम्माननीय प्रधानमन्त्रीज्यूबाट २०७३।०८।०६ गते सचिव बैठकमा भएको निर्देशन

सम्माननीय प्रधानमन्त्रीज्यूबाट २०७३।०८।०६ गते सचिव बैठकमा भएको निर्देशन

सम्माननीय प्रधानमन्त्रीज्यूबाट सचिव बैठकमा भएको निर्देशन २०७३/०८/०६

  1. मैले पदबहाली गर्ने क्रममा ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउने एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्ने गराउने, सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३ महिनाभित्रमा चिकित्सक पठाउने,गरिबका लागि सरकार नामकविशेष अभियान सञ्चालन गर्ने, देशभरिका दलित र कर्णालीका नवजात शिशुहरुको जन्मदर्ता गर्न म्याद भित्रै आउने परिवारलाई प्रोत्साहनस्वरुप रु. १ हजार प्रोत्साहन भत्ता दिने निर्णयको ठोस प्रगति मैले चाहेको छु ।
  2. संविधानको प्रभावकारी कार्यान्वयन गर्न, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्न, भूकम्प पश्चातको पुनर्निर्माणलाई गति दिन, बजार अनुगमन गरी सुलभ रुपमा उपभोक्ताहरुलाई बस्तु र सेवा वितरण हुने व्यवस्था गर्न, उर्जा संकट क्रमशः न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई तीब्रता दिन र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तथा सदाचार कायम गर्ने विषयलाई समेत समावेश गरी मैले २०७३ साउन २३ गते दिएको २८ बुँदे निर्देशन बमोजिम काम कारवाही अघि बढाई सेवा गुणात्मक र परिमाणात्मक परिवर्तन ल्याउन विशेष ध्यान दिनुहोस् ।
  3. व्यवस्थापिका संसदमा मैले २०७३ भदौ २३ गते जनताका नाममा विशेष संबोधन गर्दा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने,  संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखी संवोधन गरेको थिएँ ।मैले सम्बोधन गरेका विषयहरुको कार्यान्वयनलाई प्राथमिकताकासाथ तीब्रता   दिनुहोस् ।
  4. सिधा कुरा प्रधानमन्त्रीसँग टेलिभिजन कार्यक्रमका दौरान सर्वसाधरण जनताले मसँग उठान गरेका गुनासाहरुलाई अभिलेखाङ्कन गरी मेरो कार्यालयले तिनीहरुको उचित कार्यान्वयनका लागि तपाईहरु कहाँ पठाउदै आएको छ । यस विषयमा हालसम्म तपाइँ सम्वद्ध मन्त्रालय तथा निकायले गरेको ठोस प्रगति विवरण उपलव्ध गराउनुहोला ।
  5. प्रत्येक मन्त्रालय/ केन्द्रीय निकायहरुको समग्र कार्यसम्पादन झल्किने नतिजामूलक कार्यसम्पादन सूचकहरु निर्माण गरी नेतृत्व तहमा कार्यसम्पादन करार गर्ने, विभागीय प्रमुख/ आयोजना प्रमुख/ कार्यालय प्रमुखमा खटाउँदा कार्य सम्पादन करार गरेर मात्र खटाउने र उनीहरुको प्रगतिको आवधिक समीक्षा गरी न्यून कार्य सम्पादनस्तर भएका पदाधिकारीलार्इ जिम्मेवारीबाट हटाउने व्यवस्था कडाइका साथ लागू गर्ने भनी मेरो र मुख्यसचिवको तहबाट भएका निर्देशनहरुको कार्यान्वयनमा तदारुकता देखाउनुहोस् ।
  6. गरिबका लागि सरकार” विशेष अभियान कार्यक्रमलाई प्राथमिकतामा राखी हाल बजेटमा समावेश भएका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा लैजाने र बजेटमा समावेश हुन नसकेका कार्यक्रमहरुको हकमा सम्वन्धित मन्त्रालयहरुले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अगाडि बढाउनुहोस् । यसका लागि हाल सञ्चालनमा रहेका कार्यक्रमहरु एकीकृत रुपमा कार्यान्वयन गर्ने र थप हुनुपर्ने कार्यक्रमहरुलाई एकीकृत गरी नतिजा आउने गरी कार्यान्वयन गर्नुहोस् ।
  7. नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लिखित संघ,प्रदेश र स्थानीय तहको एकल तथा सहवर्तीअधिकार एवं संविधानको अन्य धाराहरुमा उल्लिखित कार्य जिम्मेवारीहरुको विस्तृतीकरणगरी तहगत विभाजन सहितको एकीकृत प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिनेकाम भएको छ । सोअनुरुप भावी संगठन संरचना निर्माण, जनशक्ति व्यवस्थापन र तिनको समायोजन तथा सम्पत्ति र दायित्वको बाँडफाँड गर्ने कार्य सम्पन्न गर्न विशेष ध्यान दिनुहोस्।
  8. यस आर्थिक वर्षको बजेट आ.व. शुरु हुनुभन्दा अगावै पारित गरी कार्यान्वयनमा ल्याउँदा समेत प्रथम चौमासिकको अवधिमा पूँजीगत खर्च ५ प्रतिशतभन्दा न्यून रहनु र कूल खर्च १५ प्रतिशतको हाराहारीमा रहनु चिन्ताजनक अवस्था हो । यस पृष्ठभूमिमा विकास आयोजनाहरुको प्रगति अपेक्षित रुपले सन्तोषजनक हुन नसकेको हुँदा तपाइँहरुले कार्यक्रम कार्यान्वयन र अनुगमनमा तीव्रता दिई लक्ष्य प्राप्तिमा विशेष ध्यान दिनु हुनेछ ।
  9. सार्वजनिक खर्चको प्रभावकारिता तथा उत्पादनशीलतामा विशेष ध्यान दिनुपर्ने छ ।उपलव्ध सार्वजनिक स्रोत र साधनको दुरुपयोग हुन नदिई अति उत्तम प्रयोग गर्नुछ । वित्तीय अनुशासनभित्र रही कार्य र क्रियाकलाप सञ्चालन गर्नेतर्फ सजग रहनुहोस् ।
  10. मेरो बारम्वारको प्रयत्नका बाबजुद पनि भूकम्प गएको डेढ वर्ष व्यतित हुँदासम्म यसको पुनर्निर्माण र पुनर्स्थापनाको कार्यले गति लिन नसकेको यथार्थ हाम्रो सामु छ। यो वर्षको पनि जाडो मौसम शुरु भइसकेको र अझैपनि लाखौ मानिसहरु अस्थायी टहरामा बस्नु परेको अवस्थाले मलाई अत्यन्तै चिन्तित र संवेदनशील बनाएको छ । यो समस्यालाई तपाइँहरु कसरी छिटोभन्दा छिटो संवोधन गर्नु हुन्छ ? म शीघ्र परिणामको अपेक्षा गर्दछु ।
  11. विगतका बर्षदेखि ठेक्‍का लागेका ठूला सार्वजनिक निर्माण र बस्तु तथा सेवा खरिद कार्य समयमै सम्पन्न हुन नसकी अलपत्र परेको अवस्था मैले विभिन्न जिल्ला तथा आयोजनाको भ्रमणको क्रममा अवगत गरेँ । अब यो अवस्थाले निरन्तरता पाउनु हुँदैन । तसर्थ करोडभन्दा बढी लागतका आयोजनाको निर्माण अवस्थाको नियमित अनुगमन गर्ने कार्य मेरो कार्यालयले शुरु गरिसकेको छ । आ‑आफ्नो निकाय अन्तर्गत विगतदेखि शुरु भई सम्पन्न नभएका आयोजनाको विवरण अद्यावधिक गरी पठाउनुहोला । साथै जे जुन प्रक्रिया अपनाउनु पर्छ वा कारवाही गर्नुपर्छ, सो गरी आयोजनाहरु/कार्यक्रमहरु सम्पन्‍न गराउनुहोला ।यसमा सचिवहरु स्वयमले नै मातहतका निकायबाट भए गरेका कामको अनुगमन गरी प्रगतिको सुनिश्चितता गर्नुहोला ।
  12. मैले जिल्ला तथा विकास आयोजनाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने क्रममा कतिपय निकायका आयोजनास्थलमा र जिल्लास्थित कतिपय कार्यालयहरुमा कार्यालय प्रमुखहरु अनुपस्थित रहेको, लामो विदामा बसेको, गोष्ठी तथा सेमिनारको बहानामा पटकपटक केन्द्रमा नै बस्ने गरेको भन्‍ने जानकारी भएको र गुनासो आएकोले कर्मचारीहरु जिल्लामा एवं आयोजनास्थलमा खटाउने र बस्ने व्यवस्था मिलाउनुहोला ।यसको जिम्मेवारी सचिव स्वयमले लिनुहोला ।
  13. जिल्लाका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुले स्वीकृति बिना कार्यस्थल नछोडने र १५ दिनभन्दा बढी कार्यालय वा आयोजनामा अनुपस्थित रहनुपर्ने अवस्थामा कार्यालय/आयोजना प्रमुखको वैकल्पिक व्यवस्था मिलाएर मात्र बिदा स्वीकृत गर्ने गर्नुहोला ।
  14. राष्ट्रिय गौरवका आयोजना लगायतका मैले आयोजनाहरुमा निरीक्षण अनुगमन गर्दा दिएका निर्देशन कार्यान्वयन गरी निर्धारित समयमा आयोजना सम्पन्‍न गर्ने/गराउने र निर्धारित समय अगावै आयोजना सम्पन्‍न गराउने कार्यालय/आयोजनाका कर्मचारीहरु र निर्माण व्यवसायीहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुहोस् ।
  15. विकास निर्माणको काममा गुणस्तरीयता कायम नभएका कारण आयोजनाको प्रतिफल लामो समयसम्म प्राप्त हुन नसकेको अवस्थाको अन्त्य गर्नु जरुरी छ । तसर्थ विकास निर्माण कार्य सम्पन्‍न गर्ने मात्र नभर्इ सोको गुणस्तरीयता कायम गर्न समेत लाग्नुहोला । ठुला र प्राथमिकताप्राप्त आयोजनाहरुको अनिवार्यरुपमा प्राविधिक परीक्षण गराउने व्यवस्था गर्नुहोस्।
  16. काठमाडौं उपत्यकाको सडक, ढल, खानेपानी, विद्युत, टेलिफोन लगायतका भौतिक पूर्वाधारको व्यवस्थापन एवं मर्मत सुधारमा म स्वयम् र मेरो कार्यालय संलग्न हुनुपर्ने अवस्था आउनु निकै सोचनीय विषय हो । यसले हाम्रा मन्त्रालय र मातहतका निकायहरुको जिम्मेवारी र जवाफदेहिताको स्तर झल्कन्छ । अबआइन्दा यस्ता सामान्य विषयमा तल्ला तहका कार्यालय उदासिन रहने र माथिल्लो निकायले जिम्मा लिनुपर्ने वातावरणको अन्त्य गर्नुहोस् ।
  17. हालसम्मको विकास खर्च अत्यन्त न्यून छ । कार्यक्रम स्वीकृत गराई जिल्ला जिल्लामा अख्तियारी समयमै पुर्याएर काम शुरु हुनुपर्नेमा किन के कारणले ढिलाई भएको हो । मैले घोषणा गरे अनुरुप पूँजीगत खर्च न्यूनतम ८० प्रतिशतभन्दा बढी गर्न जे जो गर्नुपर्ने हो सो गरी विकास निर्माणका काममा तीब्रता दिनुहुनेछ ।
  18. बेरुजू फर्छ्यौटको अवस्था अत्यन्तै दयनीय छ । बेरुजू फर्छ्यौटको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुहोस् ।
  19. कर्मचारीहरुलाई समयपालना र नियमितता कार्यान्वयन गराउनका लागि सबै कार्यालयहरुमा अनिवार्य रुपमा डिजिटल हाजिरी राख्ने व्यवस्था गर्नुहोस् । र त्यसको पालना अनिवार्यरुपमा गराउने काम सचिवले गर्नुहोस् । सबै कर्मचारी दश बजेदेखि पाँच बजेसम्म आ‑आफ्नो कार्यालयमा अनिवार्य रुपमा रही काम गरेकै हुनुपर्दछ । फिल्डमा खटिने कर्मचारी आफ्नो फिल्डमा रही गुणस्तरीय कार्यसम्पादन गर्ने व्यवस्था मिलाउनुहोस् ।
  20. कार्यालयमा कर्मचारी भए नभएको बारेमा केन्द्रमा राष्ट्रिय सर्तकता केन्द्र र सामान्य प्रशासन मन्त्रालयको समन्वयमा तथा स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालयबाट आवधिकरुपमा प्रभावकारी ढङ्गबाट छडके गर्ने परिपाटीको थालनी तत्काल गर्नुहोस ।
  21. कर्मचारीहरुलाई स्पष्ट र मापनयोग्य सूचकसहितको कार्यविवरण दिने व्यवस्था गरी कार्यसम्पादन सम्झौता गर्ने गराउने व्यवस्था मिलाउनुहोस् । उच्च कार्यसम्पादनका आधारमा कर्मचारीका साथै त्यस्तो कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नुहोस् ।
  22. विशेष गरेर भवन डिभिजन, सडक डिभिजन, खानेपानी जस्ता विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुमा प्राविधिक दक्ष जनशक्तिको दरवन्दी अत्यन्त न्यून भएका कारण कामकारवाही प्रभावकारी हुन नसकेको भन्ने कुरा आइरहेको छ । हाल कायम रहेको जनशक्तिलाई महत्तम परिचालन गरी काम गराउनुहोस् । त्यसबाट पनि नपुग भएमा तत्काल करारमा लिएर भए पनि काम गर्ने व्यवस्था मिलाउनुहोस ।
  23. ग्रामीण एवं दुर्गम स्थानमा रहेका कार्यालयहरुमा खटिने प्राविधिक लगायतका जनशक्तिहरुको अभाव भई सेवा प्रवाहमा प्रत्यक्ष असर परेको जनगुनासो आउने गरेकोले त्यस्ता स्थानहरुमा सेवा प्रवाहको समुचित व्यवस्था गर्नेतर्फ विशेष ध्यान दिनुहोस् ।
  24. नेपालको अहिलेको अर्थतन्त्रमा विप्रेषणले कूल ग्रार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको अवस्था छ । हाल मध्यपूर्वमा तेलको भाउमा निरन्तरको गिरावटले कुनै पनि बेला लाखौ नेपाली स्वदेश फर्कन सक्ने अवस्था आउन सक्छ, जसले ठूलो संकट ल्याउन सक्छ । अतः यसबाट पर्नसक्ने प्रभाव र त्यसलाई समाधान गर्न अवलम्वन गर्नुपर्ने उपायहरु सम्बन्धमा तत्काल अध्ययन टोली गठन गरी प्राप्त सुझाव अनुरुप अगाडि बढ्नुहोस् ।
  25. तपाइँहरु नेपाल सरकारको जिम्मेवारी र जवाफदेहिता बहन गर्ने उच्चतम् पदाधिकारी हुनुहुन्छ । मैले भनेरमात्र काम गर्ने नभई स्वचालित रुपमा जिम्मेवारीबोधका साथ काम गर्ने गर्नुहोस् । मैले यस अघि पनि पटकपटक निर्देशन दिइसकेको छु । अब मलाई अपेक्षित नतिजा चाहियो । म यसको व्यग्र प्रतिक्षामा छु । चालु आ.व. को कार्यक्रम कार्यान्वयन र निर्धारित लक्ष्य प्राप्तिमा सबैले ध्यान दिनुहोस् । वित्तीय अनुशासन कायम राख्नेतर्फ विशेष ध्यान दिई जिम्मेवारपूर्ण ढङ्गले कार्य सम्पादन गराउनुहोला ।
  26. अन्त्यमा, मन्त्रालयका कामकारवाहीका सम्वन्धमा आएका समस्या, अनावश्यक दवावलाई सामना गर्नुहोस् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आवश्यक समन्वय हुनेछ ।