प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

असोज २१, लाप्राक, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गर्नुभएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।’
प्रधानमन्त्रीले एनआरएनको कामको प्रशंसा गर्दै भन्नुभयो, ‘एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।’
कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर स्वरुप कोनेले नमूना बस्तीको सर्भे र तयारीको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनले निर्माण कार्य प्रारम्भ गरेको हो ।
लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो । नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।
एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर कोनेले जानकारी दिनुभयो ।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।