प्रधानमन्त्री र चीनियाँ रक्षामन्त्रीबीच भेट

प्रधानमन्त्री र चीनियाँ रक्षामन्त्रीबीच भेट

चैत्र १०, काठमाडौंं । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।
नेपालको तीन दिने भ्रमणमा आउनु भएका चिनीयाँ रक्षामन्त्रीसँग आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताउनु भयो ।
भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पार्नु भयो । चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।
नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीया सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमण पूर्ण सफलताको कामना गर्नु भयो ।
भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गर्नु भयो । उहाँले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद व्यक्त गर्नु भयो ।
नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नगिचवाट सहयोग गर्ने बताउनु भयो ।