प्रधानमन्त्रीद्वारा बिजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा बिजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

फाल्गुण २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्रीले नगद पुरस्कारको रकम हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्रीले २३ जना बिजेता खेलाडी र प्रमूख प्रशिक्षकलाई जनही ३ लाख, सहायक प्रशिक्षकलाई २ लाख र सामान्य ज्ञान प्रशिक्षक र फिजियोथेरापिष्टलाई जनही ५० हजार नगद पुरस्कारले सम्मान गर्नुभएको हो ।
३ लाख नगदद्वारा पुरस्कृत हुने खेलाडीहरुमा क्याप्टेन अनिल गुरुङ, भाइस क्याप्टेन बिराज महर्जन, खेलाडीहरु बिकेश कुथु, रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, बिमल घर्तिमगर, बिशाल राई, रञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जान बिष्ट, सुजल श्रेष्ठ, किरणकुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, बिशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र मूख्य प्रशिक्षक ग्वोतुकु कोजी रहनुभएको छ । त्यसैगरी सहायक प्रशिक्षक राजुकाजी शाक्यलाई रु. २ लाख, सामान्य ज्ञान प्रशिक्षक उज्जवल मानन्धर र फिजियोथेरापिष्ट सुरज भुसाललाई रु. ५० हजार नगदद्वारा सम्मान गरिएको छ ।
खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदले देशलाई भावनात्मक रुपमा एकतावद्ध बनाउने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले हासिल गरेको विजयले देशको गौरव बढाएको छ । देशलाई भावनात्मक रुपमा एकतावद्ध गरेको छ । कहिलेकाहीँ राजनीतिमा आउने विवाद र उतारचढावलाई सहमति र एकतामा बदल्न पनि तपाईहरुको विजय र एकताले प्रेरणा मिल्ने गरेको छ । हामी संविधान कार्यान्वयन र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा छौं, यसमा तपाईहरुको विजय र भावी यात्राले थप प्रेरणा दिनेछ ।’
खेलाडीहरुलाई पुरस्कारको घोषणा गर्ने तर नदिने विगतको परम्परा अन्त्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले सोलिडारिटी कप जितेलगत्तै सरकारले पुरस्कारको घोषणा गरेको थियो । विगतमा पुरस्कारको घोषणा गर्ने तर खेलाडीले नपाउने बिडम्वना पनि हामीकहाँ रहने गरेको थियो । यसपटक त्यस्तो नहोस् भन्नेमा म सुरुदेखि नै सचेत र चिन्तित पनि थिएँ । खेलाडीहरुको व्यस्तता र सरकारको पनि कामको चापका कारण सम्मानको काम केही ढिलो भयो, तैपनि तपाईहरुलाई सम्मान र पुरस्कृत गर्न पाउँदा म खुसी छु । अब पुरस्कार र सम्मानको घोषणा गर्ने तर खेलाडीहरुले नपाउने अवस्थाको अन्त्य हुनुपर्दछ ।’
कार्यक्रममा राष्ट्रिय टिमका क्याप्टेन अनिल गुरुङले सरकारले गरेको सम्मान र पुरस्कारले खेलाडीहरुमा थप हौसला बढेको भन्दै सरकारको विश्वासलाई निरन्तरको विजयमार्फत् देशको शान बढाउन प्रयोग गर्ने बताउनु भयो । कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली, खेलकूद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट लगायतको उपस्थिति थियो ।