प्रधानमन्त्रीसँग चीनियाँ राजदूत यु होङको भेट

प्रधानमन्त्रीसँग चीनियाँ राजदूत यु होङको भेट

फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनियाँ राजदूत यु होङले भेट गर्नुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार विकास र पूर्व सम्झौताहरुको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउनु भयो । प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । भेटमा प्रधानमन्त्रीले वान बेल्ट, वान रोडअन्तर्गतका विकासका कार्यक्रमहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
भेटमा चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तिब्रता दिइने बताउनु भयो । नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताउनु भयो ।