प्रधानमन्त्रीद्धारा कुलेखानी तेस्रोको स्थलगत अनुगमन

प्रधानमन्त्रीद्धारा कुलेखानी तेस्रोको स्थलगत अनुगमन

पुस २ , मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माणस्थल अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले आगामी साउन १५ भित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न निर्देशन समेत दिनुभएको छ ।
शनिवार बिहान कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय आयोजना सहित महत्वपूर्ण परियोजनाहरु आफैले स्थलगत निरिक्षण र अनुगमन गरिरहेको बताउँदै अब आयोजनामा ढिलासुस्ती र अपारदर्शीता कुनै पनि हालतमा सैह्य नहुने स्पष्ट पार्नुभयो ।
जिल्लाका राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु तथा आयोजनासँग सम्वन्धित कर्मचारीको उपस्थितिमा प्रधानमन्त्रीले कुलेखानी तेस्रोलाई निर्धारित समयभन्दा अगावै पूरा गर्न सरकारको तर्फवाट सबै किसिमको सहयोग र समन्वय रहने स्पष्ट पार्नुभयो ।
आव ०६३÷६४ मा निर्माण कार्य सुरु भएको उक्त परियोजना आगामी ०७४ साउनमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । ४ अर्ब ६३ करोडको लागतमा निर्माण गरिने उक्त परियोजनावाट १४ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । हालसम्म ८६ प्रतिशत कार्यसम्पन्न भएको छ ।