प्रधानमन्त्री एनडिआईका प्रमूख र स्वीस राजदूतको छुट्टाछुट्टै भेट

प्रधानमन्त्री एनडिआईका प्रमूख र स्वीस राजदूतको छुट्टाछुट्टै भेट

मंसिर २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एनडिआईका प्रमूख केनेथ वालाक र स्वीस राजदूत योर्ग फ्रिडेनले छुट्टाछुट्टै भेट गर्नुभएको छ । उहाँहरुले प्रधानमन्त्रीसँग सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर्नुभएको हो ।
भेटमा एनडिआईका प्रमूख केनेथले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र यसका साझेदारी संस्थाहरुको सकारात्मक योगदान रहेको बताउनु भएको थियो । केनेथले नेपालको शान्ति प्रक्रिया मौलिक र विश्वकै लागि अनुकरणीय रहेको भन्दै त्यसको नेतृत्व गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक र अनुकरणीय रुपमा समापनको दिशामा गएको भन्दै शान्ति प्रक्रियामा सहयोगी भूमिका खेलेकोमा संयुक्त राष्ट्र संघ लगायतका मित्रहरुलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले नेपाल आर्थिक समृद्धि र सुशासनको दिशामा अगाडि बढेको जानकारी गराउँदै त्यसका लागि विश्व समुदायको सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच सोमबार नै स्वीस राजदूत योर्ग फ्रिडेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा स्वीस राजदूत फ्रिडेनले नेपाललाई संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा सफलता मिल्ने विश्वास व्यक्त गर्दै त्यसका लागि स्वीस सरकार सधैं सहयोगी रहने बताउनु भयो ।
भेटमा प्रधानमन्त्रीले स्वीसले नेपालको विकासका मुद्धाहरुमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रिया र आर्थिक समृद्धिको मार्गमा अघि बढिरहेको जानकारी गराउनु भएको थियो ।