प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीच भेट भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र होङ्ग्वीबीच भेट भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेकोमा धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेको छ, यसका लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु । नेपाल र चीन पुराना असल छिमेकी हौं । हाम्रो सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहन्छौं ।’
भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै भन्नुभयो, ‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौं । हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्रीले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको जानकारी गराउँदै भारतको गोवा भ्रमणका क्रममा त्रीदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, सिजिनपिङ र नरेन्द्र मोदीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराउनु भयो ।
भेटका क्रममा इन्टरपोलका अध्यक्ष होङ्ग्वीले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी संगठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सवल बनाउन इन्टरपोलको तर्फबाट सदैव सहयोग रहने विश्वास दिलाउनु भयो । होङ्ग्वीले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै इन्टरपोलको मूख्यालय फ्रान्सको भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभयो । होङ्ग्वीले आफू इन्टरपोलको अध्यक्षमा निर्वाचित हुँदा नेपालले निकै राम्रो सहयोग गरेको स्मरण गर्नुभयो ।