प्रधानमन्त्रीको क्षेत्रमा निर्वाचन क्षेत्र विकासको बजेट बिनियोजन

प्रधानमन्त्रीको क्षेत्रमा निर्वाचन क्षेत्र विकासको बजेट बिनियोजन

मंसिर, २९, मिर्चैया, लाहान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र सिरहा—५ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बिनियोजन गरिएको छ । बुधबार बिहान सिरहा क्षेत्र नं.—५ बाट निर्वाचित प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विभिन्न आयोजनाका लागि बजेट बिनियोजन गरेको हो ।
बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्राप्त तीन करोड बजेटलाई विभिन्न विकास आयोजनाहरुमा बिनियोजन गरिएको हो । सांसद तथा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायक, नेकपा (एमाले) का सांसद धर्मनाथ साह, संघीय समाजवादी फोरमका सांसद बीरेन्द्र महतो, दलित जनजाति पार्टीका सांसद बिशेम्भर पासवान र स्थानीय विकास अधिकारी सुरेश रावतको उपस्थितिमा बसेको बैठकले मिर्चैयाको ढल निकासका लागि रु. एक करोड, निर्वाचन क्षेत्रभित्र खानेपानी आयोजनाका लागि रु. पचहत्तर लाख, गोलबजार नगरपालिका ढल निकासका लागि रु. सत्तरी लाख, सर्पदंश उपचार केन्द्र, चौहर्वाका लागि रु. दश लाख, सर्पदंश उपचार केन्द्र, बन्दीपुरका लागि रु. दश लाख, बडहरामाल वडा नं. ७, ८, र ९ को ढल निकासका लागि रु. दश लाख, गौताडी गाविसको डिम्वा खोलाको पूल निर्माणका लागि रु. पन्ध्र लाख, मिर्चैयाको सार्वजनिक जग्गामा कम्पाण्डका लागि रु. दश लाख बजेट बिनियोजन गरेको छ ।
बजेट बिनियोजन बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले बजेटलाई परिणामूखी काममा खर्च गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘विकास बजेटलाई परिणाममूखी काममा खर्च गरौं भन्ने मेरो सोंच छ । सबैलाई चित्त बुझाउन स—साना आयोजनामा रकम बाँड्ने र परिणाम नआउने समस्या हाम्रोमा प्रशस्तै छन् । म चाहन्छु, देशका सबै निर्वाचन क्षेत्रको बजेट परिणाममूखी काममा खर्च होस् । राज्यको यति ठूलो पूँजी बिकेन्द्रित हुने र परिणाम नआउने स्थितिको अन्त्य गर्न हामी गम्भीर हुनुपर्छ । यसका लागि हामीले आफ्नै ठाउँबाट नमूना प्रदर्शन गरौं ।’