प्रधानमन्त्री र युएईका उपराष्ट्रपतिबीच भेट, अमर बमलाई आममाफी दिन प्रधानमन्त्रीको विशेष आग्रह

प्रधानमन्त्री र युएईका उपराष्ट्रपतिबीच भेट, अमर बमलाई आममाफी दिन प्रधानमन्त्रीको विशेष आग्रह

माघ ४, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दिउँसो दुवईमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले दुबईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले उच्च चुचुरो (सगरमाथा) को देश भएको र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकोले नेपाल दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालमा सगरमाथा जस्ता प्राकृतिक दृष्टिले उच्च टावरहरु छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित् टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।’
भेटमा प्रधानमन्त्रीले जलविद्युतका क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मक्तोमको ध्यानाकर्षण गराउनु भएको थियो । सो अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारहरुले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराउनु भएको थियो ।
भेटका क्रममा युएईका उपराष्ट्रपति मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताउनु भयो । सो अवसरमा मक्तोमले नेपालद्वारा चासो व्यक्त गरिएका विषयहरुबारे आफू गम्भीर भएको र छिटै त्यसमा आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउनु भएको थियो ।
दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन माघ १ गते युएई प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिन लामो समय सकेर मंगलबार अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ ।