प्रधानमन्त्री र बिमस्टेका महासचिव नाकान्दालाबीच भेट

प्रधानमन्त्री र बिमस्टेका महासचिव नाकान्दालाबीच भेट

माघ २४, काठमाडौं । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिमस्टेकका महासचिव सुमित नाकान्दालाबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र नाकान्दालाबीच सन् २०१७ मा नेपालमा हुने बिमस्टेक सम्मेलनको तयारीका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले चौथों बिमस्टेक सम्मेलन सन् २०१७ मै नेपालमा सम्पन्न गर्नेबारे मन्त्रीपरिषदको बैठकबाटै तयारी गरिएको बताउनु भयो । प्रधानमन्त्रीले आगामी बिमस्टेक सम्मेलनमा कनेक्टिभिटी, उर्जा, आर्थिक विकासका एजेण्डामाथि छलफल केन्द्रित गरिने जानकारी दिनुभयो । बिमस्टेकको अध्यक्ष राष्ट्रका नाताले सम्मेलनको आयोजनाका लागि सरकार गम्भीर भएर लागेको बताउनुभयो ।
भेटमा महासचिव नाकान्दालाले बिमस्टेकको महासचिवका नाताले सन् २०१७ मा नेपालमा हुने चौथों सम्मेलनका तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताउनु भयो । भेटका अवसरमा नाकान्दालाले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डाहरु बिमस्टेक र सदस्य राष्ट्रहरुको हितमा रहेको बताउँदै एजेण्डाहरु अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा नाकान्दालाले लुम्बिनीको विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच सम्मेलनको तयारी लगायतका विषयमा बिमस्टेकका उच्च अधिकारीहरुबीच भइरहेका बैठकहरुका बारेमा समेत कुराकानी भएको थियो ।