प्रधानमन्त्री र जापानका पूर्व प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्री र जापानका पूर्व प्रधानमन्त्रीबीच भेट

चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. युकियो हातोयामाबीच शिष्टाचार भेट भएको छ । मंगलबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेपाल र जापानबीचको आपसी हित र सम्वन्धका वारेमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल र जापानबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्वन्धलाई थप गतिशील बताउने बताउनु भयो । प्रधानमन्त्रीले अहिले नेपालमा नेपाली जनता आफैले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको निर्वाचनमा जुटेको वताउँदै आफूले राजनीतिक परिवर्तन संस्थागत गरेर आर्थिक विकास र सम्वृद्धिमा जोड गरिरहेको जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीले भुकम्पपछिको पुर्ननिर्माणमा जापानी सहयोगप्रति आभार प्रकट गर्दै सुरुङ मार्ग निर्माण सहित पूर्वाधार र विकास निर्माणमा प्राप्त सहयोगप्रति धन्यवाद दिनु भयो । प्रधानमन्त्रीले नेपालमा विदेशी लगानीका लागि सकारात्मक वातावरण वनाउन सरकार र राजनीतिक दलहरु लागिपरेको बताउँदै जापानको अनुभव र प्रविधिवाट नेपालले धेरै कुरा सिक्न सक्ने जनाउनु भयो ।
जापानी पूर्व प्रधानमन्त्रीले तीन वर्षपछि पुनः नेपाल आउँदा यहाँ नयाँ संविधान बनेर चुनाव हुन लागेको खवर पाउँदा आफू धेरै खुशी भएको बताउँदै संविधान कार्यान्वयनसँगै आर्थिक विकास र सम्वृद्धिका लागि स्पष्ट धारणाका साथ अघि बढेकोमा प्रधानमन्त्रीलाई सफलताको कामना गर्नु भयो । उहाँले बुद्धको देश नेपालमा प्रधानमन्त्री दाहालले भगवान अशोकाले झैं युद्धवाट शान्तिमा आएर शान्ति र विकासमा योगदान पु¥याएको भन्दै उहाँलाई आधुनिक अशोकाको संज्ञा दिनु भयो ।
प्रधानमन्त्री प्रचण्डले आफू युद्धवाट शान्तिमा आएकोमा खुशी रहेको बताउँदै अब आफ्नो सम्पूर्ण शक्ति, समय र क्षमता नेपालको विकास र सम्वृद्धिमा लगाउन इच्छुक रहेको जानकारी दिनु भयो ।
जापानले नेपाललाई नगिचवाट सहयोग गर्ने बताउँदै पूर्व प्रधानमन्त्री हातोयामाले नेपाल प्राकृतिक, साँस्कृतिक, धार्मिकरुपमा धेरै धनी रहेकाले छिट्टै आत्म निर्भर अर्थतन्त्र निर्माण र विकासमा फड्को मार्ने अपेक्षा गर्नुभयो ।