प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिबीच भेटबार्ता

प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिबीच भेटबार्ता

उपयुक्त समय मिलाएर नेपाल आउँछु, राष्ट्रपति पिङ
असोज २९, गोवा भारत । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच भेट बार्ता सम्पन्न भएको छ ।
शनिबार साँझ भारतको गोवामा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले चीनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ भित्रै नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी दिँदै छिटै नेपाल भ्रमणका लागि निम्तो दिनुभएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनता चीनियाँ राष्ट्रपतिको भ्रमणको प्रतीक्षामा रहेको जानकारी दिँदै यसै वर्षभित्र नेपाल भ्रमणका लागि विशेष निमन्त्रणा गर्नुभएको हो ।
जवाफमा चीनियाँ राष्ट्रपति पिङले नेपालले दिएको भ्रमणको निम्तोलाई स्वागत गर्दै उपयुक्त समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने बताउनु भयो । भेटमा राष्ट्रपति पिङले पहिले पनि नेपालले भ्रमणको निम्ता गरिसकेकाले कुटनीतिक तहबाट भ्रमणको मिति तय हुने जानकारी दिँदै उपर्युक्त समय लिएर आफूले नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पिङबीच दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पको बिपत्ति र नेपालको विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध अझै मैत्रीपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा प्रधानमन्त्रीले चीनसँग नेपाल सरकारले विभिन्न समयमा गरेका सम्झौताहरु पूर्णतः कार्यान्वयन गर्न नेपाल प्रतिवद्ध रहेको जानकारी दिँदै केरुङ, रसुवागडी नाका शिघ्र सञ्चालनका लागि राष्ट्रपति पिङसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी दिँदै नेपालले बिशाल छिमेकी चीन र भारतबीच सन्तुलित सम्बन्ध विकास गरेर लाभ लिन चाहेको स्पष्ट पार्नुभयो ।
भेटका अवसरमा राष्ट्रपति पिङले चीन नेपालको राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा सधैं सकारात्मक रहेको जानकारी दिँदै चीन, भारत र नेपालबीच त्रीदेशीय सम्बन्ध विकास गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पिङले नेपालको जलविद्युत्, उर्जा र पूर्वाधार निर्माणको क्षेत्रमा चीनले सहयोग गर्न चाहेको बताउँदै बिमिस्टेकलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत हुनुहुन्थ्यो भने चीनियाँ पक्षबाट राष्ट्रपति पिङ लगायतका उच्च अधिकारीहरु सहभागी रहनुभएको थियो ।