प्रधानमन्त्रीसँग भारतीय बित्तमन्त्री जेट्लीको भेट

प्रधानमन्त्रीसँग भारतीय बित्तमन्त्री जेट्लीको भेट

फागुन १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय बित्तमन्त्री अरुणकुमार जेट्लीले भेट गर्नुभएको छ । जेट्लीले शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न बित्तमन्त्रीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराउनु भयो । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताउनु भयो ।
भेटमा बित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो । जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताउनु भयो ।