प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई लालपुर्जा बितरण

प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई लालपुर्जा बितरण

माघ २६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रहेका सुकुम्बासी जनतालाई जग्गाको स्वामित्व पत्र लालपुर्जा हस्तान्तरण गर्नुभएको छ । बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले चितवनको मंगलपुरमा रहेको लालबस्तीका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लालबस्तीका १ सय ६० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्नुभएको थियो । विगत लामो समयदेखि जग्गाको स्वामित्वका लागि संघर्षमा रहेका लालबस्तीका जनताले लालपुर्जा पाएपछि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका थिए ।
लालपुर्जा वितरणका लागि प्रधानमन्त्री प्रचण्ड सुकुम्बासी बस्ती पुग्नुभएको थियो । सोही स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सरकारको नेतृत्वमा आएको दिन नै ‘गरीबका लागि सरकार’को नारा अघि सारिएको स्मरण गराउँदै सरकारले गरीब जनताले अनुभूति हुने किसिमका कामहरु गरिरहेको जानकारी दिनुभयो ।
लालपुर्जा बितरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सुकुम्बासी समस्या नेपालको जटिल र दीर्घकालीन समस्याका रुपमा रहँदै आएको छ । मेरो नेतृत्वमा सरकार बनेदेखि नै सरकार र राज्यका कामलाई गरीबको हितमा केन्द्रित गर्न खोजिएको छ । तपाईहरुले लामो समयदेखि संघर्ष गर्दै आउनुभयो । आज लालपुर्जा प्राप्त गर्नुभएको छ । यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । सरकारले सुकुम्बासी समस्याको दीर्घकालीन समधानका लागि छिटै नयाँ नीति र कार्यक्रम अघि सार्नेछ ।’