प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छु, ‘प्रधानमन्त्री’

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छु, ‘प्रधानमन्त्री’

भदौ १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताउनुभएको छ ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) सम्वद्ध नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरु आउनुभन्दा अघि पनि म के गरी जनतालाई राहत र सुशासनको अनुभूति गराउन सकिन्छ भन्ने छलफलमै थिएँ । जनतालाई राहतको अनुभूति गराउनु र सुशासनको प्रत्याभूति गर्नु अहिलेको मूख्य कार्यभार हो, यसमा सरकार गम्भीर छ ।’
प्रधानमन्त्रीले भर्खरै सरकारले पूर्णता पाएको उल्लेख गर्दै भन्नुभयो, ‘सरकारले सापेक्षित पूर्णता पाएको छ, अब गेयर चेञ्ज गर्नेतिर सोच्दैछु । सरकार रफ्तारमा अगाडि बढ्छ ।’ प्रधानमन्त्रीले राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको भन्दै त्यसका लागि नीजि क्षेत्रको सहयोग र साझेदारी आवश्यक रहेको बताउनुभयो ।
भेटमा महासंघका प्रतिनिधिहरुले राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्न, कृषि, पर्यटन, जलविद्युतजस्ता क्षेत्रलाई अर्थतन्त्रको प्राथमिकतामा राख्न, सिण्डिकेटको अन्त्यका लागि ठोस कदम चाल्न, युवा लक्षित कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । सो अवसरमा प्रतिनिधि मण्डलले नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।