प्रतिगामी सपना पूरा हुँदैनः प्रधानमन्त्री

प्रतिगामी सपना पूरा हुँदैनः प्रधानमन्त्री

पुस २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ ।
शनिवार दिउसो चितवनको भरतपुरमा आयोजित महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘अहिले संघीयता विरोधीले यसलाई खारेज गराउन सकिन्छ कि भनेर षडयन्त्र गरिरहेका छन्, यसलाई अझै संस्थागत गर्न सरकार दृढ छ । संघीयता खोस्न खोजे विद्रोह हुनेछ ।’
प्रधानमन्त्रीले सरकारले संविधान संशोधनमार्फत् मधेशी, आदिवासी जनजातिका पहिचान र अधिकारका मुद्धालाई अझै संस्थागत गर्न खोजेको स्पष्ट पार्दै संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धीका लागि आफूले लामो बलिदानीपूर्ण संघर्ष र त्याग गरेको बताउनु भयो । उहाँले अहिले परिवर्तनका यी एजेण्डाका विरुद्ध विरोधीले टाउको उठाउन खोजिरहेको भन्दै प्रतिगामी चलखेलविरुद्ध लाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो ‘हिजो जसरी जनयुद्ध र जनआन्दोलन तपाईंहरुको मद्दतले सफल भयो र यसैको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो, अब यसको रक्षा र थप अधिकार प्राप्तिका लागि तपाईहरुको मद्दत चाहिएको छ । तपाईहरुको साथ भएन भने ठूलो राजनीतिक दुर्घटनाको खतरा छ । तर नेपाल कतिपय मानिसले भनेजस्तो प्रतिगमनतिर फर्कंदैन, जाने त अब ०७४ सालतिरै हो ।’ फेरि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र पहिलाकै सामन्ती राजतन्त्र ल्याउँन संभव नभएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो ‘यस्तो दिवा सपना कहिल्यै पूरा हुने छैन, हुन दिँइदैन ।’
प्रधानमन्त्रीले सरकारले छिट्टै निर्वाचन घोषणा गर्ने तयारी गरिरहेको वताउँदै निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने स्पष्ट पार्नु भयो । उहाँले देशमा दुईथरी बाहुन रहेको बताउँदै एकथरी बाहुन जनजातिका निम्ति ज्यान हत्केलामा राखेर लड्छन, भने अर्काथरी बाहुन जनजातिलाई अधिकार दिनैहुन्न भनेर हिँडिरहेको औल्याउनु भयो । उहाँले, सबै बाहुनलाई एउटै हो भनियो भने अन्याय हुने बताउँदै उत्पीडनमा परेका वर्ग समुदायको हक अधिकारका निम्ति लड्ने बाहुन उत्पीडित वर्गको असली मित्र हुने प्रष्ट पार्नु भयो ।
‘पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान, अधुरो र अपुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न वक्ताहरुले शुभकामना दिनुभएको थियो ।