पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न

पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न

फाल्गुण २, काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार बिहान सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले सञ्चालन गर्ने पूनर्निर्माण कोष सम्बन्धि कार्यविधिमा कोष परिचालन र नियन्त्रणसम्बन्धि व्यवस्थाका लागि मन्त्रीपरिषदमा सिफारिस गर्ने, भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश हुन छुटेको भनी आएका गुनासोकर्ताहरुको गुनासोबारे पून सर्वेक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पको पूनर्निर्माणमा भइरहेको ढिलाईबारे बैठकलाई सचेत गराउँदै युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘मेरो सबैभन्दा धेरै चासो र चिन्ता भूकम्पको पूनर्निर्माण र निजी आवास निर्माणमा छ । भूकम्प गएको २ वर्ष पुग्न लाग्दासमेत जनताका घर बन्न सकेका छैनन् । पहिलो किस्ता राहत वितरणको काम सन्तोषजनक भएपनि अरु काम प्रभावकारी हुन सकेका छैनन् । प्राधिकरणको ध्यान त्यतातिर जाओस्, अब हामीले ढिलाई गर्नु हुँदैन ।’