पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न

पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न

मंसिर ५, काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा पूनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पूनर्निर्माण सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाबिस र नगरपालिकाहरुमा पूनर्निर्माणका लागि पूनर्निर्माण सामुदायिक समिति गठनमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायत सामाजिक संघ, संस्थाहरुलाई आब्हान गर्ने निर्णय गरेको छ ।
बैठकले भूकम्प प्रभावित क्षेत्रका जोखिमयूक्त बस्ती स्थानान्तरणका लागि जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन र पहिचान गरी बैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसरी नै आइतबारको निर्देशक समितिको बैठकले पुरातात्विक महत्वका क्षेत्रहरु पूनर्निर्माणका लागि बृहत्तर गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भौतिक पूर्वाधार सम्बन्धि प्राधिकरणको स्वीकृत मापदण्ड बमोजिम गोरखाको लाप्राकमा रहेको लाप्राक एकीकृत नमूना बस्तीको जग्गा प्राप्ति र पूनर्निर्माण सम्बन्धि थप अनुदान दिनसक्ने गरी निर्णय पनि गरेको छ ।
आइतबारको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले सबै गाबिसहरुमा एक सय जनाका दरले पूनर्निर्माण स्वयमसेवक परिचालन गर्ने, काठमाडौं उपत्यकामा मंसीर १५ गतेभित्र पहिलो किस्ताको अनुदान सम्झौता गर्ने, भूकम्प प्रभावित सबै जिल्लाहरुमा माघ १५ गतेसम्म पहिलो किस्ताको अनुदान रकम बितरण गर्ने, फागुन मसान्तभित्र ५० हजार निर्माणकर्मी उत्पादन गर्ने लगायतको कार्ययोजना बैठकमा पेश गर्नुभएको थियो ।