पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ, ‘प्रधानमन्त्री’

पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ, ‘प्रधानमन्त्री’

पौष १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेर मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
तमु ल्होसारको उपलक्ष्यमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूक हो । यस्तो विविधता विश्वमा कमै मात्रामा पाइन्छ । हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र पूँजी हुन् । कसैको अपनत्व र अस्तित्वलाई कमजोर पारेर राष्ट्रिय एकता बलियो हुँदैन, झन् कमजोर हुन्छ । सबैलाई पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।’
आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिचान र अधिकारका पक्षमा मेरै नेतृत्वमा त्यति ठूलो राजनीतिक सङ्घर्ष भयो, जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति निर्वाचित हुनुभयो । अहिले जनयुद्धको योगदान र मेरै प्रयत्नमा राष्ट्रपति महिला हुनुहुन्छ । म प्रधानमन्त्री हुँदा न्यायाधीशमा नियुक्त महिला नै अहिले प्रधानन्यायाधीश हुनुहुन्छ । सभामूख पनि महिला र जनजाति हुनुहुन्छ । मधेशी समुदायबाट उपसभामूख हुनुहुन्छ । यो सबै जनयुद्ध र माओवादी आन्दोलनकै देन हो । म सधैं सबै जाति, भाषा, धर्म र लिङ्गको एकता र अधिकारको पक्षमा छु । गुरुङ जातिकै मान्छे प्रधानमन्त्री हुने दिन पक्कै आउनेछ । त्यसैले म भन्छु, अरु बाहुन, क्षेत्री नेता र प्रचण्ड पनि उस्तै हुन् भन्दा मप्रति घोर अन्याय हुन्छ । म कहिल्यै शोषण र जातीय अहंकारको पक्षमा छैन ।’
कार्यक्रममा नेताहरु गोपालमान श्रेष्ठ, देवप्रसाद गुरुङ, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो भने गुरुङ जातिका विभिन्न समाजले आ–आफ्नो मौलिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।