नयाँ बर्षका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

नयाँ बर्षका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

नयाँ वर्ष २०७४ को यस सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।यो नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
यस अवसरमा हामीले भर्खरै विदाइ गरेको वर्ष २०७३ को समीक्षा पनि गर्नुपर्ने हुन्छ ।यो साल केही उपलव्धिका दृष्टिले अविस्मरणीय पनि रह्‍यो।एकात्मक र केन्द्रीकृत रुपमा लामो समयदेखि प्रयोग हुदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलौमा पुर्याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल भयौं। विकराल रुप लिदै गइरहेको उर्जा समस्यालाई समाधान गरी केही शहरहरुमा लोडसेडिङ्गको अन्त्यगरी इच्छाशक्ति र निष्ठा भए पछि छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखायौं ।वैदेशिक रोजगारमा रहेका लाखौ नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुरक्षाका लागि म्यादी जीवन वीमा शुरुवात गरी महत्वपूण नीतिगत शुरुवात गर्यौ । यसका साथै सुस्त गतिमा रहेको पुननिर्माणको कामलाई गति दियौं भने हाम्रा छिमेकी लगायतका मित्रराष्ट्रसंगको सम्बन्धलाई थप सुदृढ र मजवूत बनायौं।चौविस वर्ष यताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि २०७३ को एउटा महत्वपूर्ण उपलव्धि नै हो।यी उपलव्धि हासिलगर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
नयां वर्ष २०७४ ले नेपाली जनताले हालसम्म गरेका संघर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोशेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको छ।लगभग बीस वर्षको अन्तराल पछि २०७४ वैशाख ३१ गते नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाउदैछन् । नयाँ संरचना र परिवर्तित शासकीय स्वरुपमा हुन गैरहेको यस निर्वाचन विगतको भन्दा धेरै अर्थमा पक्‍कै फरक रहेको छ । यस निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा म विशेष आव्हान गर्दछु भने सकृय रुपमा भाग लिएर यस ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा हार्दिक आव्हान गर्दछु ।त्यसैगरी यसका साथै संविधानले तोकेको समय सीमा भित्र संघ र प्रदेश तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको छ र यसमा पनि सबै नेपाली दाजुभाइ दिदीबहिनीको पूर्ण सहयोग रहने विश्वास सरकारले लिएको छ ।
हाल मुलुक संघीय संरचनामा गइसकेको छ । संघीयता नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग र अनुपम अवसर पनि भएको सन्दर्भमा यसको कुशलतापूर्वक व्यवस्थापन लागि सरकारले २०७४ मा संघीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानून तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनैतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिनेछ ।यसबाट संघीयताको पूर्ण कार्यान्वयन हुन गै संविधानको भावना अनुरुप समावेशी, जवाफदेही, जनमैत्री शासकीय संरचनाको सिर्जना भै सम्वृद्ध, शान्त र सामाजिक न्याय सहितको राज्य स्थापना हुने विश्वास लिएको छु ।
नयाँ वर्ष २०७४ सालमा संविधानमा तोकिएको समय भित्र तीन वटै तहको निर्वाचन सम्पन्न भर्इ नेपाल आर्थिक समृद्धी र विकासको वाटोमा अगाडि वढ्ने विश्वास व्यक्त गर्दै नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस तथा सवैं समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्ने शुभेच्छा सहित सबैंको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

बैशाख १, २०७४ पुष्प कमल दाहाल प्रचण्ड