देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो, ‘प्रधानमन्त्री’

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो, ‘प्रधानमन्त्री’

पौष २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताउनु भएको छ । नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘म अप्ठ्यारोमा छैन । तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो । देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ ।’
सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान हामीले बनायौं, त्यो महत्वपूर्ण कार्यभार थियो । अब संविधानको सफल कार्यान्वयन गर्नुछ । संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेका छौं । मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो । राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ ।’
लोकार्पणमा प्रधानमन्त्रीले शान्त श्रेष्ठ नेपाली बाम राजनीति र संघर्षको बिशिष्ठ व्यक्तित्व भएको बताउँदै त्यसबाट आफू पनि प्रभावित भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय राजनीति र सिर्जनाका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।