ढिलोका लागि होइन, छिटोका लागि प्रतिस्पर्धा गर्नुस्, ‘प्रधानमन्त्री’

ढिलोका लागि होइन, छिटोका लागि प्रतिस्पर्धा गर्नुस्, ‘प्रधानमन्त्री’

असोज ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना ढिला सम्पन्न गर्ने प्रतिस्पर्धा नगर्न र छिटो सम्पन्न गर्ने प्रतिस्पर्धा गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार नेपाल सरकारका सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सचिवहरुको प्रस्तुतिले प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयनको आशा जगाएकाले सरकारको प्राथमिकता अनुसार मन्त्रालयगत योजना बनाउन सचिवहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीको सम्बोधनमध्ये आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय, त्यसको कार्यान्वयनको अवस्था र जटिलताबारे आफ्नो धारणा राख्नुभएको थियो ।

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिति २०७३।०५।२३ गते व्यवस्थापिका संसदमा गर्नुभएको सम्बोधन कार्यान्वयनको तयारीका लागि सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुसँगको संयुक्त बैठकमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको मन्तव्यका मुल बूंदाहरु—प्रधानमन्त्रीको स्वकीय सचिवालय ।
— सचिवहरुको कुरा सुनें । यसले यथार्थ कुरा बुझ्न मलाई मद्दत गरेको छ । अहिलेको राजनीतिक घटनाक्रम र आकांक्षाअनुसार मैले सरकारबाट दिशानिर्देश गर्ने प्रयास गरेको छु । अहिले हामी बिशिष्ट राजनीतिक कालखण्डमा छौं । म आफैं द्धन्द्ध र शान्ति दुवै प्रक्रियाबाट आएकाले नेपालमा स्थायी शान्तिका लागि प्रयास गर्न लागेको छु ।
— तल्लो वर्ग र समुदायलाई बेलैमा सम्बोधन गर्न सकिएन भने नयाँ द्धन्द्ध आउन सक्छ । यसमा म एकदमै सचेत छु, त्यसैले मैले शान्ति र स्थीरताका लागि निकै जोड लगाएर काम गर्न खोजेको छु । तपाईहरु नै विज्ञ हुनुहुन्छ, यो कुरा मैले तपाईहरुप्रति विश्वास र अनुभवका कारणले भनेको हुँ । तर, तपाईहरुले परिवर्तनका लागि नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ । तपाईहरुको मेहेनत पनि बढाउन आवश्यक छ ।
— यसपल्ट प्रधानमन्त्री भएलगत्तै बिश्राम नगरी खटिरहेको छु । हामीले केही दिन सकेनौं भने गम्भीर समस्या आउँछ भन्नेमा म स्पष्ट छु । सचिवज्यूहरुलाई जनतालाई राहत दिने गरी परिणाममूखी काम गर्न निर्देशन दिन चाहन्छु । सरकार संविधानले परिलक्षित गरेका परिवर्तनका एजेण्डा सम्बोधन गर्न गम्भीर छ । संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्रअनुसार मैले सम्बोधनमा संकेत गर्न खोजेको छु, यसलाई गम्भीरतापूर्वक लिनुहोला ।
— संसदको सम्बोधन महत्वकांक्षी छैन । हिजो राज्यबाट उपेक्षा परेका समुदायलाई अग्रभागमा ल्याउन खोज्दा महत्वकांक्षी देखिएको हो । तर, त्यसो नगरी परिवर्तन सम्भव छैन । नीतिगत र कानूनी जटिलता भए सरकारलाई भन्नुस्, बजेट अपुग भए पेश गर्नुस् । तर, परिणाममूखी काम हुनैपर्छ ।
— तपाईहरुले कार्ययोजना दिनुभएको छ । तर, मेरो स्प्रिडअनुसार कार्ययोजना आएको छैन । ४५ दिनभित्र पहिलो किस्ता अनुदान सम्झौता गर्ने घोषणा पूर्ण रुपमा लागु भएको छैन । अनुदान सम्झौताको काम सन्तोषजनक छ । तर, उत्साहजनक छैन । आफैलाई बाँध्ने संरचनाले पनि यसमा काम गरेको छ । युद्ध स्तरमा काम गर्न रोक्ने संरचनामाथि पूनर्विचार गर्नेबारे सोच्दैछु ।
— वैदेशिक रोजगारी र राष्ट्रिय गौरवका आयोजनाको सवालमा सरकार गम्भीर छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पीडामा सरकारले साथ दिनैपर्छ । हामीले पूँजीगत खर्च बढ्न नसक्ने समस्याको हल खोज्नुपर्छ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न नियमित अनुगमन र निरीक्षण गर्छु । म तपाईहरुका मन्त्रालय अन्तर्गतका आयोजनामा पनि अचानक अनुगमनमा आउन सक्छु ।
— अरु देशमा आयोजना छिटो सम्पन्न प्रतिस्पर्धा हुन्छ । तर, हामीकहाँ ढिलो काम गर्ने, अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको छ । हाम्रो समस्या यहीँनेर छ । विकासका ठूला आयोजनाहरुको नियमित अनुगमन गर्नेछु । तपाईहरु काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा गर्नुहोस् ।
— हेलो सरकारमा आउने गरेका गुनासा, सिधा प्रश्न प्रधानमन्त्रीसँग कार्यक्रममा बोलेका विषयहरु हाम्रो कार्ययोजनामा आउनुपर्छ । कालोबजारी र महंगी नियन्त्रण गर्न अनुगमन अगाडि बढिरहेको छ । तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । राम्रो काम गर्ने र राम्रो काम देखिने अवस्था आउनुपर्छ ।
— जनतालाई आशावादितामा लैजानुपर्छ । सरकारी निकायप्रति जनताले सकारात्मक धारणाले सोच्ने वातावरण बनाउनैपर्छ । हामीले नयाँ संविधानले नयाँ परिणाम दियो भन्ने अनुभूति गराउनैपर्छ । यसमा तपाईहरुले गम्भीरतापूर्वक काम गर्नुहोला ।
— मैले साना साना कुरामा पनि ध्यान दिन खोजेको छु । हाम्रा लागि साना कुरा जनताका लागि ठूला कुरा हुन् । हामीले साना सम्झेर जनताका ठूला कुरामा खेलबाड गर्नु हुँदैन । साना साना कुरामा परिणाम निकाल्न सक्यौं भने पनि त्यसले ठूलो परिणाममा उपलब्धि हासिल गर्ने वातावरण बन्छ ।
— मेरो तपाईहरुप्रति विश्वास छ । हामीकहाँ राम्रा नराम्रा दुवै प्रवृत्ति छन् । नराम्रालाई हटाएर राम्रालाई अनुशरण गरौं । मेरो व्यवस्थापिका संसदको सम्बोधनलाई अक्षरशः पालना र कार्यान्वयन गर्नेतिर सोचौं । यो राजनीतिक संक्रमणको व्यवस्थापनको कार्ययोजना हो । मैले अनुगमनमा आउँदा सबै निकायमा परिवर्तनको अनुभूति भएको देख्न पाउनेछु ।