जातीय छुवाछुत र हिंसा गर्नेप्रति कठोर बनौं, ‘प्रधानमन्त्री’

जातीय छुवाछुत र हिंसा गर्नेप्रति कठोर बनौं, ‘प्रधानमन्त्री’

पौष १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेहरुप्रति राज्य कठोर बन्नुपर्ने बताउनु भएको छ । सोमबार सिंहदरबारमा बसेको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यान्वयन उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्रीले कठोर कदम चाल्ने बताउनु भएको हो ।
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलितमाथिको हिंसा रोकिएको छैन । यो लज्जास्पद कुरा हो । सरकार यस्ता हिंसा सहेर बस्न सक्दैन । हामीले कठोरतापूर्वक संविधान र कानूनमा भएको व्यवस्था कार्यान्वयन मात्र गर्न सके पनि हिंसा न्यूनिकरण हुन सक्छ र उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् ।’
बैठकमा प्रधानमन्त्रीले परिवर्तनको रापताप कमजोर हुँदै गएपछि सामन्ती सोंच र संस्कारले टाउको उठाउँदै गएको भन्दै त्यसका विरुद्ध सामाजिक जागरण अभियान र कठोर कानूनी उपचार जरुरी रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको बैठकमा समितिमा रहेका सांसदहरु, मूख्य सचिव सोमलाल सुवेदी लगायतले कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभएको थियो ।
समितिको बैठकले काभ्रेका अजित मिजार र लक्ष्मी सुनारको रहस्यमय मृत्युको छानविन गर्न प्रशासनलाई निर्देशन दिने, जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धि संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने, जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय तहसम्म निगरानी संयन्त्र गठन गर्ने निर्णय लिएको छ ।