छानविन समिति बनाउन प्रधानमन्त्रीको निर्देशन

छानविन समिति बनाउन प्रधानमन्त्रीको निर्देशन

भदौ ८, काठमाडौं । काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाको निष्पक्ष छानविनका लागि छानविन समिति बनाउन निर्देशन दिनुभएको छ ।
बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभयो, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’
भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।